वालिङ, २७ साउन ।
सामुदायिक बन दिवसका अवसर पारि दोस्रो दिन पनि सामुदायिक वन उपभोक्ता महासंघ वालिङले वृक्षारोपण गरेको छ । उपभोक्ता महासंघ वालिङले भीरकोट, ४ मा रहेको छाङछाङ्दी मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । मन्दिर वरपरको वातावरण हरियाली एवम् सुन्दर बनाउने उदेश्यले सामुदायिक वन दिवसको अवसरमा शनिबार वृक्षहरु एवम् विभिन्न प्रजातिका फुलका विरुवाहरु रोपण गरिएको उपभोक्ता महासंघ वालिङले जनाएको छ ।
कार्यक्रममा छाङछाङ्दी मन्दिर व्यवस्थापन समिति अध्यक्ष पिताम्बर श्रेष्ठले मन्दिरमा विभिन्न भौतिक संरचनाहरु निमार्ण भईरहे पनि वृक्षारोपण आज सम्म कुनै संघसंस्थाले नगरेको र सामुदायिक बन उपभोक्ता महासंघ वालिङले गरेको यो कार्य निकै सर्हानिय रहेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका गण्डकी प्रदेश न्यायिक समिति सदस्य सिता काफ्ले, प्रदेश सदस्य माया पाण्डे, भीरकोटका सामाजिक अभियान्ता दुर्गादत्त भुषाल, सामुदायिक वन उपभोक्ता वालिङका उपाध्यक्ष नन्दुराज अर्याल, भीरकोटका मिठ्ठु अधिकारी, रामबाच्छाका सुर्य प्रसाद काफ्ले वालिङका सचिव राधा रेग्मी लगायतले बोल्नुभएको थियो । त्यस्तै वृक्षारोपण एवम् फुलबारी व्यवस्थापनका लागी छाङछाङ्दी मन्दिर समितिले जग्गा उपलब्ध गराएमा वृक्षारोपण एवम् फुलबारी व्यवस्थापन सामुदायिक बन उपभोक्ता महासंघ वालिङले गरिदिने पनि द्धिपक्षीय सम्झौता भएको सामुदायिक बन उपभोक्ता महासंघ वालिङका अध्यक्ष कमल गैह्रेले जानकारी दिनुभयो ।
कार्यक्रम महासंघ वालिङका अध्यक्ष कमल गैह्रको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सालघारी सामुदायिक वन वालिङ १४का श्यामलाल पाण्डेले गर्नुभएको थियो । उपभोक्ता महासंघ वालिङले शुक्रबार वालिङ, ९ सुर्कौदीमा रहेको ईलाका प्रशासन कार्यालय भवन परिसरमा वृक्षारोपण एवम् फुलबारी व्यवस्थापन गरेको थियो ।