तोलाकान्त बगाले
वालिङ, १७ साउन ।
उद्योगी, ब्यवसायी एवम् बरिष्ठ समाजसेवी डोलराज शर्माले गेझाकालिका मन्दिर निर्माणकालागि पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ ।
स्याङ्जाको वालिङ ८ काफलडाँडामा घर भई हाल काठमाडौं बस्दै आउनुभएका शर्माले स्याङ्जाको गल्याङ नगरपालिका ९ गेझास्थित गेझा कालिका मन्दिर निर्माणकालागि रु. पाँच लाख उपलब्ध गराउनुभएको हो ।
धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा निर्माणाधिन अवस्थामा रहेको मन्दिर निर्माणकालागि सहयोग गरेको उहाँले बताउनुभयो ।
निर्माणाधिन अवस्थामा रहेको धार्मिक आस्थाको केन्द्रकोरुपमा रहेको गेझाकालिका मन्दिरको निर्माण कार्यमा जोडिन पाएकोमा खुशी ब्यक्त गर्नुहुँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताउनुभयो ।
वरिष्ठ समाजसेवी शर्माले उपलब्ध गराउनुभएको रकम ग्रहौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्र वालिङ ८ का उपाध्यक्ष दुर्गाप्रसाद शर्मा उपाध्याय, सचिव तिलकराम उपाध्याय, कोषाध्यक्ष केशभक्त गुरुङले विहीबार मन्दिर निर्माणाधिन स्थलमा गई वडा नं. ९ का वडाअध्यक्ष नामदेव खनाल, १० का वडा अध्यक्ष मुक्तिप्रसाद खनाल, १० का वडा सदस्य चेतकान्त खनालले मन्दिर निर्माण समितिका अध्यक्ष कुसुम भण्डारीलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।
ग्रहौंसुरस्थित कालिका भगवती र गेझास्थित गेझाकालिका दिदीबहिनी भएको जनविश्वास रही आएको छ । गेझाकालिका मन्दिर निर्माणकालागि वृहत्तररुपमा गुरुयोजना बनाएर काम अगाडि बढाईएको निर्माण समितिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
मन्दिर परिसरमा हाल मुख्य मन्दिर, सहायक मन्दिर, पौवा, आवास गृह, धर्मशाला लगायतका भौतिक पूर्वाधार निर्माण भईरहेको छ । मन्दिर जस्तो पवित्र संस्थामा आर्थिक सहयोग गर्नुहुने वरिष्ठ समाजसेवी शर्मालाई मन्दिर ब्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ । सोही कार्यक्रममा गल्याङ १० का वडा अध्यक्ष मुक्तिप्रसाद खनालले ब्यक्तिगतरुपमा रु. दशहजार सहयोग हस्तान्तरण गर्नुभएको थियो । केही दिन अघिमात्रै वरिष्ठ समाजसेवी शर्माले प्रसिद्ध धार्मिक स्थल छाङ्छाङ्दी छायाँक्षेत्र शिवमन्दिरमा रु. पचास हजार आर्थिक सहयोग गर्नुभएको युवा समाजसेवी केशभक्त गुरुङले जानकारी दिनुभयो ।