वालिङ, १८ असार ।
वालिङ ११ मा नेतृत्व विकास तथा उद्दघोषण तालिम सम्पन्न भएको छ । वालिङ ११ नं वडाले वडाभित्रका टोल विकास संस्थाका पदाधिकारी, आमा समुहका पदाधिकारीहरु, क्लबका पदाधिकारी तथा प्रतिनिधिहरुका लागी तालिम प्रदान गरेको हो । दुई दिनसम्म सञ्चालित तालिम ११ वडा कार्यालय सभाहल डौँवामा मंगलबार सम्पन्न भएको हो ।
तालिमको समापनका अवसरमा वडा अध्यक्ष डण्डपानी पंगेनीले बोल्ने कला तथा सिपले जिवनलाई सशक्त र सक्षम बनाउन सहयोग गर्ने बताउनुभयो । टोल विकास संस्था, आमा समूह तथा क्लबहरुलाई सम्बन्धीत निकायमा योजना माग गर्दा होस या समाजलाई सहि मार्गमा हिँडाउन नेतृत्व तथा बोल्ने कलाको महत्व रहेको भन्दै तालिममा सिकेका विषयलाई अभ्यास गर्दै व्यवहारमा उर्तान आग्रह गर्नुभयो । वडा सदस्य धनमाया आलेले टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको क्षमता विकासमा यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी टिकाराम पराजुली, सहभागि हरिहर पंगेनी, नरेन्द्रप्रसाद पराजुली, सुस्मिता खनाल, शारदा पौडेलले तालिम निकै फलदायी रहेको भन्दै आगामी दिनमा पनि वडाले अन्य सिपमुलक तालिमहरु ल्याउने अपेक्षा गर्नुभयो । कार्यक्रमको संचालन वडा कार्यालयका कम्युटर अपरेटर पार्वती अर्यालले गर्नुभएको थियो भने धन्यवाद वडा सचिव लक्ष्मीप्रसाद अर्यालले गर्नुभएको थियो ।
३७ जनाको सहभागिता रहेको तालिममा रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले र समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको थियो ।