स्याङ्जाका पालिकाको १५ करोड बढी बेरुजु

0
13
Google search engine

प्रकाश डोटेल
स्याङ्जा, १४ जेठ ।

Google search engine

महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार स्याङ्जाका ११ वटै स्थानीय तहको १५ करोड भन्दा बढी बजेट बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा पालिकाहरुको १५ करोड ३२ लाख ६२ हजार बजेट बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७९÷८० को कुल बजेट १६ अर्ब ६८ करोड ५७ लाख ६२ हजारको कार्यालयले गरेको लेखापरीक्षणमा जम्मा ० दशमलब ९२ प्रतिशतले हुन आउने बजेट बेरुजु देखिएको छ । बेरुजु मध्ये ५ नगरपालिकाको ११ करोड ८ लाख ६१ हजार र ६ गाउँपालिकाको चार करोड २४ लाख एक हजार रहेको छ ।

रकमको आधारमा नगरपालिका मध्ये सबैभन्दा बढी बेरुजु पुतलीबजारको देखिएको छ भने सबैभन्दा कम गल्याङ्को देखिएको छ । जिल्लाको सबैभन्दा बढी बेरुजु हरिनासको २ दशमलब ८८ प्रतिशत देखिएको छ भने सबै भन्दा कम कालीगण्डकी गाउँपालिकाको ० दशमलब १० प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख छ ।

पुतलीबजारको दुई अर्ब ३५ करोड ५८ लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड ८ लाख ८८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । गल्याङ्मा दुई अर्ब तीन करोड २२ लाख ८३ हजारको लेखापरीक्षण गर्दा एक करोड ४१ लाख ७३ हजार बेरुजु देखिएको छ ।

चापाकोटको एक अर्ब ५० करोड २८ लाख ७७ हजारको लेखापरीक्षणमा एक करोड ७४ लाख ३० हजार बेरुजु देखिएको छ । भीरकोटको एक अर्ब ४३ करोड २५ लाख ५५ हजारको लेखापरीक्षण गर्दा दुई करोड ५९ लाख ७९ हजार बेरुजु देखिन्छ । वालिङको दुई अर्ब ४२ करोड ७५ लाख ५१ हजारको लेखापरीक्षण हुँदा दुई करोड २३ लाख ९१ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिका तर्फ अर्जुनचौपारीको एक अर्ब ८८ लाख १९ हजारको लेखापरीक्षण हुँदा ३६ लाख २३ हजार बेरुजु देखिएको छ । आँधीखोलाको एक अर्ब ३३ करोड ६६ लाख १० हजारको लेखापरीक्षणमा १९ लाख ७७ हजार बेरुजु देखिएको छ भने कालीगण्डकीको एक अर्ब ४५ करोड ९८ लाख ६० हजारको लेखापरीक्षण गर्दा १५ लाख ८ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी फेदीखोलाको एक अर्ब एक करोड ७१ लाख ३१ हजारको लेखापरीक्षणमा ३९ लाख ७८ हजार बेरुजु छ भने बिरुवाको एक अर्ब १३ करोड ८६ लाख ४७ हजारको लेखापरीक्षण गर्दा ३२ लाख ६७ हजार बेरुजु देखिएको छ । हरिनासको ९७ करोड ३५ हजार ९२ लाखको लेखापरीक्षण हुँदा दुई करोड ८० लाख ४८ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।

जिल्लाका पालिका मध्ये पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा हरिनास गाउँपालिकाको बेरुजु रकम एक प्रतिशत भन्दा बढी छ भने अन्य पालिकाको बेरुजु एक प्रतिशत भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका पालिकाहरुमा २६ करोड ५७ लाख २८ हजार बेरुजु रकम उल्लेख भएकोमा ६१ औँ वार्षिक प्रतिवेदन अनुसार ११ करोड २४ लाख ६६ हजार बेरुजु कम भएर १५ करोड ३२ लाख ६२ हजार मात्रै बेरुजु देखिन्छ ।

महालेखाले स्थानीय तहलाई आवधिक योजना तर्जुमा, श्रोत तथा बजेटको पूर्वानुमान, आन्तरिक श्रोतको परिचालनमा गम्भिर हुन भनेको छ । योजना छनौट र आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी कार्यान्वयन गर्न, रकमान्तरलाई व्यवस्थित गराउन महालेखाले आग्रह समेत गरेको छ ।

Google search engine