सगरमाथामा आरोहीलाई गाउँपालिकाद्वारा नागरिक अभिनन्दन

0
67
Google search engine

तोलाकान्त बगाले
वालिङ, १६ जेठ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका आरोहीलाई स्याङ्जामा नागरिक अभिनन्दन गरिएको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका २ चिलाउनेबास घर भई सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सगरमाथा आरोही प्रहरी निरीक्षक सुरज पौडेललाई बुधबार नागरिक अभिनन्दन गरिएको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा आँधीखोला गाउँपालिकाको र सशस्त्र प्रहरी बलको झण्डा फह¥याउनुभएको थियो । सशस्त्र प्रहरी बल नेपालको इतिहासमा पहिलो पटक सगरमाथा चढ्ने अधिकृतकोरुपमा पौडेलले इतिहाससमेत रच्नुभएको हो ।
गाउँपालिका र सशस्त्र प्रहरी बलको झण्डा फह¥याउँदै पालिका र आँफू कार्यरत संगठनको झण्डा फह¥याएबापत उहाँको सम्मानमा गाउँपालिकाले दोसल्ला, सम्मानपत्र र बाजागाजासहित नागरिक अभिनन्दन गरेको हो ।
शेर्पा एक्ट्रिम प्रालिमार्फत चैत ३० गते सगरमाथाकालागि प्रस्थान गर्नुभएका पौडेलले जेठ ७ गते बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

Google search engine

आरोही पौडेललाई आँधीखोला गाउँपालिका ५ सेतीदोभानदेखि आँधीखोला गाउँपालिका २ चिलाउनेबाससम्म परिक्रममा गराईएको हो ।
सगरमाथा आरोहण सहज नभएको उहाँले बताउनुभयो ।
“चुचुरोमा पुग्न जति कठिन छ, त्यति नै कठिन ओर्लिन पनि छ” उहाँले भन्नुभयो, “शारीरिक, मानसिक, मौसमको प्रतिकूलताका बाबजुत पनि फर्किन सफल भईयो, आँफू जन्मेको ठाउँलाई चिनाउने अवसर पाएँ, निक्कै खुसी लागेको छ ।”
सगरमाथा आरोहण आफ्नो ठाउँकालागि नयाँ र फरकपन भएकाले आरोही पौडेललाई सम्मान गरिएको गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौड्यालले बताउनुभयो । सगरमाथाको शिखरमा आफ्नो ठाउँको झण्डा फह¥याएर गाउँपालिकाको नाम राखेकाले प्रोत्साहनस्वरुप सम्मान गर्न पाउँदा खुसी लागेको प्रदेश सभा सदस्य पौडेलले बताउनुभयो ।
आरोही पौडेल सिङ्गो पालिकाको गहना भएको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । अब गाउँपालिकाले तयार गर्ने स्थानीय पाठ्यक्रममा आरोही पौडेलको जीवनी समावेश गरी थप जानकारी दिने प्रतिवद्धता अध्यक्ष पौडेलले जनाउनुभयो ।

Google search engine