तोलाकान्त बगाले
वालिङ, २३ वैशाख ।
स्याङ्जाको चापाकोट १ मैदानका हिमबहादुर सारु मगरसहित अन्य तीन जनाको घरगोठ सोमबार आगलागिकाकारण खरानीमा परिणत भयो । आँफूहरु बसोबास गर्दै आएको घर गोठ खरानीमा परिणत भएपछि मैदान गाउँ अहिले पीडामा छ । विनाकारण आफ्नो बासस्थान खरानीमा परिणत हुँदा दोषी अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । गाउँमुनीको जङ्गलमा आगो लाग्दा हावाहुरीले आगो उडाएर ल्याउँदा आँखै अगाडि घर गोठ खरानी बन्यो ।

मैदानवासीको पीडासँगै उक्त घटना घटाउने मान्छेको पहिचान गरी कारवाही हुनुपर्छ भन्ने माग रहेको छ । शनिबार मैदानबासीले वनमा आगो लगाउने मानिसको खोजी गरी कारवाही हुनुपर्ने माग प्रतिनिधि सभा सदस्य, पूर्व मन्त्री एवम् कांगे्रस केन्द्रीय उपसभापति धनराज गुरुङसँग राखे ।

“हाम्रो अभिभावक हजुर नै हो, म त बेघर भएँ भएँ” हिमबहादुर मगरले भन्नुभयो, “आगामी दिनमा म जस्तै बेघर अरु कोही पनि नहुन्, त्यसकालागि जो कोही भएपनि खोजी गरी कानूनी दायरामा ल्याउनै पर्छ ।”
आँफू बस्दै आएको घर खरानी हुनुको पीडा भोग्नेलाईमात्रै थाहा हुने भन्दै उहाँले आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिनकालागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो ।

सम्पास सामुदायिक वनमा लागेको आगो फैंलिदै आउँदा वनभन्दा माथि रहेका मैदान र बीरडाँडाका पाँच घर तथा गोठ जल्दा पशु चौपाया, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको हो ।
गत सोमबार मैदानका तीन घर तथा मंगलबार बीरडाँडाका दुई घरमा आगलागि हुँदा लाखौंको क्षति भएको थियो ।
मैदानमा गत सोमबार साँझ ५ बजे हिमबहादुर सारु मगर, तेजकुमारी सारु मगर र चन्द्रकुमारी सारु मगरको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

भोलिपल्ट मंगलबार दिउसो २ बजे घरमुनी जङ्गलबाट आएको आगोले बीरडाँडाका सेतीमाया सिंजाली र खमानसिंह सिंजालीको घर गोठ जलेर खरानी भएको थियो ।
पूर्वमन्त्री गुरुङले शनिबार स्याङ्जाको चापाकोट नगरपालिका १ का मैदान र बीरडाँडाका अग्नि पीडित पाँच घर परिवारको अवस्था बुझ्नुकासाथै आर्थिक सहयोग गर्नुभएको हो ।
आगलागि भई घरबारबिहीन भएका जनताको घरमा पुगेर पूर्व मन्त्री गुरुङले प्रति परिवार रु. दश हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो ।

घरबारबिहीन हुनुभएका नागरिकहरुको अवस्था बुझ्नकालागि घरदैलोमा पुग्नुभएका पूर्वमन्त्री गुरुङले पहिलो चरणमा आँफूले पाउने मासिक पारिश्रमिकबाट आर्थिक सहयोग गर्नुभएको हो ।
आगो लगाउने मान्छेको पहिचान गरी छिट्टै कानूनी दायरामा ल्याउनकालागि आँफूले पहल गर्ने बताउँदै नागरिकको दुःख सुखमा आँफू जहिले पनि सँगै रहेको धारणा ब्यक्त गर्नुभयो ।





