वालिङ, १९ वैशाख ।
वालिङ,८ रेड पिपर पार्टी प्यालेसमा सञ्चालित चारदिने राजयोग मेडिटेशन सम्पन्न भएको छ । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागि आयोजित राजयोग मेडिटेशन बुधबार सम्पन्न भएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय वालिङ शाखाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा सञ्चालित मेडिटेशनमा दैनिक १५ सय जनाले प्रशिक्षण लिएका थिए ।
मेडिटेशन कार्यक्रमको समापन गर्नुहुँदै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले व्यस्त जीवनशैलीलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा आयोजना गरिएको मेडिटेशनले सकरात्मक उर्जा थपेको बताउनुभयो । नगरपालिकाले केहि सहयोग गर्ने भन्दै सामाजिक रुपान्तरणका लागी यो प्रशिक्षणले टेवा पुग्ने विश्वास उहाँको छ ।
आफ्नो आत्मा र परमात्मा चिनेर परिवारमा सुख, शान्ती र समृद्धिका लागी यो प्रशिक्षण कोशे ढुङ्गा सावित हुने उपप्रमुख तिवारीको भनाई रहेको छ । कार्यक्रममा वालिङक उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सहज जिवयापनका लागी शान्त मन हुनुपर्ने बताउँदै योग, ध्यानमा जोडिनपर्ने उहाँले बताउनुभयो । चार दिवसीय प्रशिक्षण कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घलेले प्रशिक्षण दिनुभएको थियो । चारदिन सम्म सञ्चालन भएको कार्यक्रममा झण्डै ६ हजार जना प्रशिक्षित भएको आयोजकको अनुमान छ ।

अतिब्यस्त र तनावग्रस्त हुँदै गएको जीवनशैलीको उपज ब्यक्तिगत, पारिवारिक एवम् ब्यवसायिक समस्याहरुको वैज्ञानिक एवम् आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, गहन मानसिक शान्ति एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।






