वालिङ, ९ चैत ।
गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरणमा परिणत गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार वालिङ ५ पित्लेकमा आयोजित व्यवसायिक तरकारी खेति सम्बन्धी दुईदिने तालिमको समापन गर्दै सभापति अर्यालले परम्परागत रुपमा गर्दैै आइएको खेति प्रणालीलाई परिवर्तन गरी व्यवसायीकरणमा लाग्नुपर्नेमा जोड दिनुभएको हो । कृषि ज्ञान केन्द्रको आयोजना तथा जनकल्याण कृषक सहकारी संस्थाको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो । सभापति अर्यालले भन्नुभयो, “उत्पादकत्व वृद्धि गर्नकालागि समय समयमा यस्ता तालिमहरुको आयोजना गर्नु निकै राम्रो पक्ष हो । कृषकका कृषि उपजहरुको सहज बजारीकरणकालागि सडक तथा पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको छ ।”
वालिङ ५ को पित्लेक कृषिका लागि निकै संभावनायुक्त स्थान रहेको र यहाँका कृषकहरुले समेत निकै मेहेनत गरेर कृषि उपजहरु उत्पादन गर्नुभएको भन्दै मेहेनती कृषकको साथमा स्थानीय तथा प्रदेश सरकार साथमा रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली कांगे्रस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, वडा नं. ५ का अध्यक्ष छवि आले, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख इश्वरीप्रसाद अर्याल, वालिङ नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापा, जनकल्याण कृषक सहकारी संस्थाका सदस्य नरबहादुर पौडेल, संस्थाका व्यवस्थापक हुमनाथ लामिछानेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष भुवनेश्वर लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष खेमकान्त पौडेल र सञ्चालन सचिव नारायणप्रसाद लामिछानेले गर्नुभएको थयिो । कार्यक्रममा व्यवसायिक तरकारी खेती गर्नकालागि आवश्यक माटो, हावापानीलगायतका विषयमा जानकारी गराउँदै माटो परीक्षण, बाली परीक्षण, माटोमा देखिने रोगको उपचार विधि, बालीमा देखिने रोगको उपचार विधिका बारेमा कृषि ज्ञान केन्द्र र वालिङ नगरपालिकाका कृषि प्राविधिकहरुले प्रशिक्षण दिएका थिए । तालिममा सहकारीमा आवद्ध कृषकहरुको सहभागिता रहेको थियो ।