श्रीकृष्ण सिग्देल
चैत ४, वालिङ ।
नेपाल पत्रकार महासंघ स्याङ्जा शाखालाई कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग भएको छ । जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिकाले महासंघलाई कम्प्युटर सहयोग गरेको हो । पत्रकार महासंघको स्थापना भएको झण्डै १८ बर्षपछि सदरमुकाममा कार्यालय संचालन गरेको छ । पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले एक कार्यक्रमको आयोजना गरि पत्रकार महासंघलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । पत्रकारहरुलाई समाचार प्रवाह गर्न सहज हुने अपेक्षा राखेर अहिलेलाई कम्प्युटर सहयोग गरेको नगर प्रमुख रेग्मीले बताउनुभयो ।
पत्रकार महासंघलाई नगरपालिकाबाट हुने सहयोगमा कुनै कसुर बाँकी राख्ने छैनौं उनले भन्नुभयो, ‘भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि नगरपालिकाले प्रक्रिया अगाडी बढाएको छ ।’ राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारीता क्षेत्रलाई सम्वद्र्धन र संरक्षण गर्ने दायीत्व स्थानीय सरकारको हो उहाँले भन्नुभयो । स्थानीय सरकारले गरेका राम्रा कामको उच्च प्रथामिकतामा राखेर समाचार प्रवाह गरिदिन समेत नगर प्रमुख रेग्मीले आग्रह गर्नुभयो । पुर्वाग्राही ढंगले समाचार प्रकाशन भन्दा पनि समालोचना हुनेगरी समाचार प्रशारण, प्रकाशन गर्दा सबैलाई न्योचित हुने तर्फ ध्यान दिन सबै पत्रकारहरुलाई नगर प्रमुख रेग्मीको सुझाव थियो ।
कार्यालय व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाले एक थान कम्प्युटर सहयोग गरेको महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिनुभयो । ‘कार्यालय नै नहुँदा जिल्लामा कार्यरत पत्रकारहरुको हकहितको साथै अन्य कामका लागि कार्य सम्पादनमा कठिनाई हुदै आएको थियो, महासंघका अध्यक्ष सिग्देलले भन्नुभयो, ‘कार्यालय स्थापनापछि सहयोग माग्नेक्रममा रहेका छौं ।’ त्यसै सन्दर्भमा पुतलीबजार नगरपालिकाले पहिलो सहयोग कम्प्युटर प्रदान गरेर हौसला दिएकोे छ उहाँले भन्नुभयो । पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि सबैलाई सहयोग गरिदिन समेत आग्रह गरेको उहाँले बताउनुभयो । श्रमजीवीहरुको संगठन भएकाले यो संगठनलाई संरक्षण गर्नु स्याङ्जाका सरोकारवाला निकायको दायीत्व रहेकोले यस कार्यमा सबैले सहयोगी हात फैलाएर जिल्लाका संचारकर्मीहरुलाई सहजरुपले काम गर्ने वातावरण मिलाइदिन अध्यक्ष सिग्देलले आग्रह गर्नुभयो । अहिले सम्म कार्यालय व्यवस्थापनका लागि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठले एक—एक थान कुर्चि टेवुल उपलब्ध गराएको पनि अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
जिल्लामै कार्यालय नहुँदा झोलामा बोकेर महासंघ चलाउन बाध्यता भएको यो संगठनलाई अवका दिनमा भाडामा स्थापना गरिएको कार्यालयबाट कार्य सम्पादन गर्दा सहज हुने बताइएको छ । जिल्लामा झण्डै ५ दर्जन पत्रकारहरु रहेपनि महासंघमा भने ४ दर्जन पत्रकारहरु आवद्ध छन् । शुद्धिकरण अभियानका कारण अहिले महासंघमा आवद्ध रहने पत्रकारहरुको संख्या भने एकिन भइनसकेको अध्यक्ष सिग्देलले बताउनुभयो ।