तोलाकान्त बगाले
वालिङ, २४ फागुन ।
स्याङ्जाको वालिङ ९ भुम्रे माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण गरिएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुकालागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रममार्फत सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग र सुस्त मनस्थिति बौद्धिक अपाङ्गता अभिभावक संघ स्याङ्जाको आयोजनामा शुक्रबार शैक्षिक तथा सरसफाई सामग्री वितरण गरिएको हो ।
सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै वालिङ वडा नं ९ का वडा सदस्य पेउनारायण भण्डारीले अपाङ्गताका सवालमा वडाले प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेल, निवर्तमान अध्यक्ष युवराज पराजुली, सुस्त मनस्थिति बौद्धिक अपाङ्गता अभिभावक संघ स्याङ्जाका अध्यक्ष कुलप्रसाद ढकाललगायतले भुम्रे माविको स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक र सरसफाई सामग्री वितरण गरिएको बताउनुभयो ।
अपाङ्गता भएका ब्यक्तिको स्याहार गर्ने परिवारका सदस्यलाई रोजगारीको वातावरण मिलाउनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
भुम्रे माविका स्रोत शिक्षक डोलराज बस्यालले स्रोत कक्षामा हाल स्याङ्जाका विभिन्न भागबाट १० जना छात्र छात्रा अध्ययनरत रहेका बताउनुभयो । स्रोत कक्षामा अध्ययनरत बालबालिकाकालागि दैनिक उपभोग्य वस्तुको ब्यवस्थापनमा समस्या, स्याहार शिक्षिका आयाको पारिश्रमिकसम्बन्धी समस्याहरु देखिएको बताउनुभयो ।