तोलाकान्त बगाले
वालिङ २४ फागुन ।
स्याङ्जाको वालिङ खेलमैदानमा शुक्रबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा फागुन २५ देखि ३० गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
वालिङ खेलमैदानमा भएको पत्रकार सम्मेलनमा भलिबल खेललाई दीगोरुपमा विकास र संरक्षण गरी यस क्षेत्रको भलिबल खेल तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासम्म पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो ।
स्याङ्जासहित आसपासका जिल्लामा स्थापित पुरुष खेलाडीहरुको स्थायित्व र लुकेर रहेका नयाँ नयाँ खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्नकालागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेल प्रदर्शन गरेका ख्यातिप्राप्त खेलाडीहरुसहितका ९ टिमहरु सहभागी हुने भएका छन् ।
प्रतियोगिता लिगकम नकआउट विधिबाट सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद एक लाखसहित शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरी विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गर्ने तयारी क्लबको छ । उत्कृष्ट खेलाडीलाई रु. १० हजार पुरस्कारको ब्यवस्था रहेको छ । त्यस्तै वेष्ट स्पाईकर, वेष्ट सेटर, मिडल ब्लकर, वेष्ट सर्भर, वेष्ट डिफेण्डर र उदयीमान खेलाडीलाई जनही ५ हजार पुरस्कार दिने क्लबका उपाध्यक्ष राजु खड्काले बताउनुभयो ।
६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा रु. पन्ध्र लाख ८५ हजार अनुमानित खर्च हुने क्लबका कोषाध्यक्ष कृष्ण शर्माले बताउनुभयो ।
प्रतियोगितामा मुख्य प्रायोजक, प्रायोजक, ब्यानर, चन्दा तथा आर्थिक सहयोगबाट खर्च ब्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
प्रतियोगिता अवलोलकन गर्नकालागि प्रवेश शुल्क रु. एकसय तिर्नुपर्ने छ । दर्शकहरुलाई सहजरुपमा खेल अवलोकन गर्नकालागि प्याराफिट निर्माण गरिएको छ । यसअघि खेलमैदानमा निर्माण भएको प्याराफिटबाट पनि खेल अवलोकन गर्न सकिने गरी ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।