तोलाकान्त बगाले
वालिङ १५ फागुन ।
४२ औं राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । एघार स्थानीय तह रहेको स्याङ्जामा फागुन १५ गते आठ स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
स्याङ्जाका वालिङ, पुतलीबजार, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी, हरिनास, बिरुवा गाउँपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसलाई भब्यताकासाथ मनाउन विदा दिने निर्णय गरेका हुन् ।
विशेषगरी मगर समुदायको बाहुल्य रहेका स्थानीय तहहरुले मगर एकता दिवसमा सार्वजनिक विदा दिएका हुन् । वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित सार्वजनिक विदासम्बन्धी आशयको सूचना वेवसाईटमा राखिएको छ ।
राष्ट्रिय मगर एकता दिवसको दिन वालिङ नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय, सरकारी कार्यालय, संघ संस्था र बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । वालिङ नगरपालिकाले आईतबार सूचना सार्वजनिक गरेको हो ।
पुतलीबजार नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले मगर दिवसमा विदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख तुलसीराम रेग्मीले जारी गर्नुभएको सूचनामा पुतलीबजार नगरपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवम् संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था तथा नगरपालिकाको क्षेत्रभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था र अन्य संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जनाईएको छ ।
गल्याङ नगरपालिकाको १३ गते आईतबार बसेको नगर कार्यपालिकाको बैठकले ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ । आईतबार निर्णय गरेको गल्याङ नगरपालिकाले सोमबार सूचना सार्वजनिक गरेको हो ।
चापाकोट नगरपालिकाले पनि नगरपालिका मातहतमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु, सार्वजनिक संघ संस्थाहरु र सामुदायिक विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको नगर प्रमुख देवबहादुर खाँणले जानकारी दिनुभयो ।
भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यद्वारा हस्ताक्षर भई सोमबार सार्वजनिक भएको सूचनामा नगर प्रमुखस्तरीय निर्णय अनुसार विदा दिईएको छ ।
त्यस्तै कालीगण्डकी गाउँपालिकाले राष्ट्रिय मगर दिवसका अवसरमा अत्यावश्यक सेवाबाहेक कालीगण्डकी गाउँपालिकाभित्र रहेका सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ । कालीगण्डकी गाउँपालिकाले विदा दिने निर्णय आईतबार नै गरेको थियो ।
बिरुवा गाउँपालिकाको गत शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले राष्ट्रिय मगर एकता दिवसलाई सभ्य र भब्यरुपमा मनाउन विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताउनुभयो । शनिबार गरेको निर्णय गाउँपालिकाले आईतबार सार्वजनिक गरेको हो ।
हरिनास गाउँपालिकाको गत बिहीबार बसेको १३ औं गाउँ कार्यपालिकाको बैठकले राष्ट्रिय मगर दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
बिहीबार गरेको निर्णय शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको हस्ताक्षरमा सार्वजनिक गरिएको थियो । स्याङ्जाका आठ स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेपनि फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाले भने सार्वजनिक विदा दिएका छैनन् ।
आँधीखोला गाउँपालिकामा मगर समुदायको बसोबास एकदमै न्यून भएकाले सार्वजनिक विदा नदिईएको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।