तोलाकान्त बगाले
वालिङ, १३ फागुन ।
स्याङ्जाको चापाकोटमा जारी भलिबल प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । चापाकोट नगरपालिका ९ सुन्तलीटारमा स्वर्गीय सन्तोष थापाको स्मृतिमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा र बागलुङबीच आज भएको फाईनल खेलमा ३–१ ले बागलुङ बिजयी भएको हो ।
चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव स्थलमा सम्पन्न भएको भलिबल प्रतियोगिताको बिजेता बागलुङले नगद एकलाख ५० हजार प्राप्त गरेको महोत्सव मुल आयोजक समितिका सूचना तथा सञ्चार संयोजक गोपिकृष्ण रेग्मीले बताउनुभयो ।
पाँच सेटमा खेलाईएको फाईनल खेलमा बागलुङले ३–१ को सेटमा स्याङ्जालाई जितेको हो । शनिबार सम्पन्न भएको सेमिफाईनल खेलमा स्याङ्जाले नवलपुरलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । बागलुङले पर्वतलाई हराउँदै फाईनलमा स्याङ्जासँगको भेट पक्का गरेको थियो ।
तेस्रो स्थानकालागि आजै भएको खेलमा पर्वत बिजयी भएको छ । प्रतियोगिताको उपबिजेता स्याङ्जाले नगद एक लाख, तृतीय भएको पर्वतले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा स्याङ्जा, बागलुङ, पर्वत, तनहुँ, पाल्पा, कास्की, नवलपुर गरी सात जिल्ला सहभागी भएका थिए ।