आरती कुँवर
वालिङ, १२ फागुन ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङल ेदेश र जनताको काम गर्नकालागि आँफूले राजनीति गरेको बताउनुभएको छ । ठुला योजनादेखि साना साना योजनाहरुमा ध्यान गएको भन्दै मन्त्री गुरुङले सबै कामहरु विस्तारै सम्पन्न गर्दै जाने बताउनुभयो । न्यु मिशन थ्रि स्टार युवा क्लब वालिङ–१२, काउलेद्धारा क्लबको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित साविक गाउँ स्तरीय पुरुष भलिबल प्रतियोतिको उदघाटन गर्दै मन्त्री गुरुङले देश र जनताको काम गर्नको लागी राजनीति गरेको बताउनुभएको हो ।
‘उहाँले भन्नुभयो’, “अहिले नगरे कहिले काम गर्ने ? मलाई तपाईहरुले काम गर्नकालागि मन्त्री बनाउनुभएको हो, म काम गरेरै छाड्छु, देश र जनताकालागि राजनीति गरेको मान्छे म धेरै कुरा सोचिरहदिन जहाँ जहाँ जे जे काम पर्छ गर्दै जाने हो ।”
मन्त्री गुरुङले फरक विचार राख्दैमा, फरक पार्टिमा लाग्दैमा शत्रु नहुने वास्तवमा शत्रु गरिबि, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार हुने भन्दै त्यसको विरुद्धमा लाग्ने तर गाउँ तथा देशको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले सबै काम एकैपटकमा सम्पन्न नहुने बताउँदै केही कामहरु यस वर्षमा थालिएको र अन्य कामको लागि आगामी वर्षदेखि शुरु हुने बताउनुभयो । मन्त्री गुरुङले वालिङ, १२ काउले, चन्द्रकोट जाने बाटोको स्तरोन्नति गर्ने बताउदै वालिङ नगरपालिका भित्रका ग्रामीण सडकहरुको समेत स्तरोन्नति गर्नकालागि योजना तयार गर्न र यदि बजेट अभाव भएमा खबर गर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “वालिङ नगरभित्रका जति पनि सानातिना बाटोघाटो, खानेपानी आदि जे पनि छन योजना तयार पारेर नगरमा जानुस् यदि बजेट अभाव भएमा मलाई भन्नुस, म छु ।” मन्त्री गुरुङले चन्द्रकोट पर्यटकीय सन्दर्भसँग जोडिएकाले यसलाई व्यवस्थित बनाउन पहिला आधारभुत आवश्यकतामा बाटोको स्तरोन्नति गर्ने लगायत भ्यु टावर निर्माणकालागि आँफू लागिपर्ने उहाँको दावी छ ।
कार्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रे, वालिङ, १२ का वडा अध्यक्ष विश्वजंग गुरुङ, युवा नेता कमल कुँवरले खेलले आपसी भाइचाराको सम्बन्ध स्थापित गर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष कमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत क्लबका संस्थापक अध्यक्ष थमबीर गुरुङले र सञ्चालन क्लबका सदस्य मनिश गुरुङले गर्नुभएको थियो ।
क्लबको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको गाउँस्तरीय पुरुष भलिबल, भेट्रान्स भलिबल तथा क्यारम बोर्ड प्रतियोगितामा भलिबलतर्फ प्रथम पुरस्कार नगद ८६ हजार शिल्ड मेडल र प्रमाणपत्र रहेको छ ।
त्यस्तै द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश ः ५६ हजार, ३६ हजार, २१ हजार शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । भेट्रान्स तथा क्यारमबोर्डतर्फ प्रथम र द्वितीय पुरस्कार खसी तथा पाठो, शिल्ड मेडल र प्रमाणपत्र रहेको छ ।