तोलाकान्त बगाले
वालिङ, १२ माघ ।
स्याङ्जाको वालिङ खेलमैदानमा हुन लागिरहेको आठौं वालिङ महोत्सवमा अपाङ्गता भएकाहरुले उत्पादन गरेको सामग्रीको ब्यापार प्रवद्र्धनकालागि निशुल्क स्टल उपलब्ध गराईने भएको छ ।
वालिङ नगरपालिका तथा वालिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १८ देखि २८ गतेसम्म हुन लागिरहेको महोत्सवमा अपाङ्गता भएका ब्यक्तिहरुको सहज पहुँच पुग्ने गरी तयारी थालिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवलाई अपाङ्गमैत्री बनाउने विषयमा प्राप्त भएका सुझाव तथा सल्लाहरुलाई आत्मसात गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
महोत्सवमा अपाङ्गता भएका कलाकारहरुलाई अवसर दिनुपर्ने, दर्शक बस्ने ठाउँमा अपाङ्गता भएका ब्यक्तिहरुलाई छुट्टै उपयुक्त स्थानको ब्यवस्था गर्ने, अपाङ्गता भएका ब्यक्तिहरुले उत्पादन गरेको सामग्रीको ब्यापार प्रवद्र्धनकालागि एउटा स्टल निशुल्क उपलब्ध गराउने, अपाङ्गता भएका ब्यक्तिहरुको परिचयपत्रका आधारमा निशुल्क प्रवेश दिने विषयमा आयोजक वालिङ उद्योग वाणिज्य संघ र स्याङ्जा अपाङ्ग समाजबीच छलफल भएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र स्याङ्जा अपाङ्ग समाजको टोलीले दिएको सुझावहरुलाई आयोजकले गम्भीरतापूर्वक लिएको र त्यसलाई अधिकतमरुपमा समेटेर अगाडि बढ्ने निष्कर्षमा पुगिएको स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष युवराज पराजुलीले बताउनुभयो ।
सोही टोलीले आज नै वालिङ बैंकर्स क्लबका कार्यवहाक अध्यक्ष प्रेमनारायण अर्यालसँग पनि छलफल तथा अन्तरक्रिया गरेको छ । टोलीले अपाङ्गता भएका ब्यक्तिहरुकालागि वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुकालागि लाभ हुने गरी कार्य योजना बनाएर अगाडि बढ्ने विषयमा सकारात्मक धारणा तयार भएको समाजका निवर्तमान अध्यक्ष पराजुलीले बताउनुभयो ।