वालिङ, ८ माघ ।
राम जन्मभूमि भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाको खुसियालीमा वालिङमा दीप प्रज्वलन एवम् भजन कृतन गरिएको छ । विश्व हिन्दु महासंघ स्याङ्जा, विश्व हिन्दु युवा संघ स्याङ्जा र विश्व हिन्दु महासंघ वालिङको संयुक्त आयोजनामा राम जन्मभूमि अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार वालिङ मोडमा दीप प्रज्वलन एवम् भजन कृतन गरिएको हो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले भगवान रामको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले ५०० वर्ष देखिको सपना पूरा भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद समेत दिनुभएको थियो । उहाँले राम र लक्ष्मणको जस्तै दाजुभाईको सम्बन्ध अहिलेको आवश्यकता भएको बताउनुभयो । साथै उहाँले हामी सबैले भगवान रामबाट धेरै कुरा सिक्नपर्ने समेत बताउनुभएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पदमप्रसाद पाण्डे, विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेल, विश्व हिन्दु महासंघ वालिङ नगरका अध्यक्ष सीताराम अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव भुपराज बगालेले गर्नुभएको थियो ।