तोलाकान्त बगाले
वालिङ, ११ पुस ।
स्याङ्जाको पुतलीबजारमा मंगलबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिकाले जितेको छ ।
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा स्याङ्जा खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुतलीबजार नगरपालिकाले कूल २२ पदकसहित उपाधि जितेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष रामकाजी गुरुङले बताउनुभयो ।
पुतलीबजार नगरपालिकाले ११ स्वर्ण, १० रजत र एक काँस्य पदक प्राप्त गरेको थियो । पुतलीबजारलाई उपाधि दिलाउनकालागि पुरुषतर्फ ८ स्वर्ण र महिलातर्फ ३ स्वर्ण प्राप्त भएको थियो । रजत पदक प्राप्त गर्नेमा पुरुष ३ र महिला खेलाडीले ७ पदक प्राप्त गरेका थिए । काँस्यतर्फ एक महिला खेलाडीले पदक जितेकी थिईन् ।
कूल १६ पदक प्राप्त गरी वालिङ नगरपालिका द्वितीय भएको छ । वालिङलाई द्वितीय स्थानमा पु¥याउन महिलातर्फ ८ स्वर्ण र पुरुषतर्फ एक स्वर्ण गरी कूल ९ स्वर्ण पदक प्राप्त गरेको थियो । वालिङले २ रजत र ५ काँस्य पदक प्राप्त गरेको थियो ।
तृतीय स्थानमा रहेको भीरकोट नगरपालिकाले कूल ११ पदक प्राप्त गरेको थियो । भीरकोटले ३ स्वर्ण, ५ रजत र ६ काँस्य पदक प्राप्त गरेको थियोे ।
प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाले ३ स्वर्ण र २ काँस्य गरी ५ पदक प्राप्त गरेको थियो । बिरुवा गाउँपालिकाले एक स्वर्ण, ३ रजत र ६ काँस्य गरी १० पदक, अर्जुनचौपारी गाउँपालिकाले एक स्वर्ण, ३ रजत र ३ काँस्य गरी कूल ७ पदक, गल्याङ नगरपालिकाले एक स्वर्ण, ३ रजत र ४ काँस्य गरी कूल ८ पदक प्राप्त गरेको कावा अध्यक्ष गुरुङले बताउनुभयो ।
आँधीखोला गाउँपालिकाले एक स्वर्ण, एक रजत र दुई काँस्य गरी कूल ४ पदक, हरिनास गाउँपालिकाले २ रजत र एक काँस्य गरी कूल ३ पदक, फेदीखोला गाउँपालिकाले एउटामात्रै रजत पदक प्राप्त गरेको थियो ।
पुरुष तथा महिलातर्फ छुट्टाछुट्टै कूल पन्ध्र वटा विधामा प्रतिस्पर्धा गराईएको थियो । रिले तथा ब्यक्तिगत विधाका दौडहरु, लङ्गजम्प, हाईजम्प, त्रिपलजम्प, शटफुट, ज्याभलिनथ्रो, भलिबल र कबड्डी खेलहरु समावेश गरिएको थियो ।
एघार स्थानीय तह रहेको स्याङ्जामा चापाकोट नगरपालिकाबाहेक अन्य दश स्थानीय तहले सहभागिता जनाएका थिए । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुलाई यही पुष २६ देखि २९ गतेसम्म नवलपुरमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराईने प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले बताउनुभयो ।