तोलाकान्त बगाले
वालिङ २३, मङ्सिर ।
गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समाज रूपान्तरणकालागि सकारात्मक सोंचले सम्भव रहेको बताउनुभएको छ । स्याङ्जाको वालिङ ८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले सकारात्मक सोंचको विकासले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।
सकारात्मक सोंच र भावले मानिसहरूमा सकारात्मक उर्जा प्राप्त हुने र त्यो नै समाज रूपान्तरणकालागि उपयोगी हुने धारणा उहाँको थियो ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री अर्यालले खानेपानीको अभावमा कोही पनि नागरिक रहने अवस्थाको अन्त्य सरकारले गर्ने बताउनुभयो । प्रदेश सरकारले प्राथमिकतासहित एक घर एक धारा अभियानको कार्यान्वयनलाई तिव्रताकासाथ अगाडि बढाएको बताउनुभयो । नागरिकहरूलाई आधारभूत खानेपानीको ब्यवस्थापन गर्न मन्त्रालय प्रतिवद्द रहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले गाँजा खेती गर्न पाउने नीति तथा स्थानीय रक्सीलाई ब्राण्डिङ गर्नकालागि नीति तथा कार्यक्रममा समेटेको बताउनुभयो ।
पछिल्लो समय केही सहकारीहरू नेतृत्वकैकारण धरासयी हुँदै गएको बताउँदै संस्थाको सवलीकरणकालागि शेयर सदस्यहरू सचेतर जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
सहकारीहरूले स साना किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै हुनीखानी र टाठा बाठाले सस्तो र सहुलियत दरमा कर्जा सुविधा लिने गरेकाले यसलाई सुधार गर्दै जानुपर्ने उहाँले जिकिर गर्नुभयो ।
साधारणसभामा वडा नं. ५ का वडा अध्यक्ष छविलाल आले, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, शेयर सदस्य महेश गुरुङ, चण्डिका सापकोटा अर्यालले फरक अभियानसहित स्थापित भएको सहकारीले अवलम्बन गर्नुपर्ने आगामी योजनाहरुकाबारेमा सुझावसहित शुभकामना ब्यक्त गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदीको स्वागतसँगै सुरु भएको साधारणसभाको उद्घाटन सत्र संस्थाका अध्यक्ष ले. यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सदस्य भोजराज गुरुङले गर्नुभएको थियो ।