वालिङ, ५ पुस ।
बागलुङ जिल्लाको दक्षिणी भेगमा अवस्थित ‘समृद्धि समाजको चाहना, प्रवासी बलेवालीहरुको कामना’ भन्ने मूल नाराका साथ २०१३ सालमा स्थापना भएको बलेवा सेवा समाज जापानको सातौं अधिवेशन टोकियोको आसागयास्थित मार्टिना रेस्टुरेण्टको हलमा डिसेम्बर ३१ तारिक आईतबार हुने भएको अध्यक्ष टिकाराम रिजाल (बिमल) ले जानकारी दिनुभयो ।
बागलुङ जिल्लाको बलेवाबाट जापानलाई कर्मथलो बनाउँदै विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्थाकोरूपमा रहेको परिचित समाजले सामाजिक सेवाका विभिन्न कार्यहरु गर्दै आएको समाजका अध्यक्ष रिजालको भनाई छ ।
समाजको ऐतिहासिक सातौं अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक जिम्मेवारी बाँडफाँडका साथ कार्य भइरहेको महासचिव अर्जुन लामिछानेले जानकारी दिनुभयो । अधिवेशनबाट आगामी कार्यकाल २०२४–२०२६ को लागि नेतृत्व चयन समेत हुने भएकोले संस्थाका भूतपूर्व अध्यक्ष तथा संरक्षक सेवक पिसीको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि संरक्षक तथा भूतपूर्व अध्यक्ष महेन्द्र पिसीको संयोजकत्वमा आयोजक समिति रहने गरी कार्य भैरहेको जानकारी संयोजक महेन्द्र पिसीले गराउनुभयो ।
नयाँ कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरी सामाजिक क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक सेवक पिसीले बताउनुभयो ।
अधिवेशन बेलुका ५ बजेदेखि नेपाली रेस्टुरेन्ट मार्टिना आसागया टोकियोमा हुने भएको हुनाले सम्बन्धित सम्पूर्ण बलेवालीहरुलाई उपस्थित हुनकालागि समाजले अनुरोध गरेको महासचिव अर्जुन लामिछानेले बताउनुभयो ।