मणीप्रसाद अर्याल
मंसिर १४, वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिका स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गइरहेको छ । सुत्केरी महिलाहरुको शल्यक्रिया, पालिकाभित्रका नागरिकहरुको निशूल्क क्षयरोग स्क्रिनिङ, निशुल्क आँखा जाँच तथा शल्यक्रिया लगायतका कामहरु गर्दै आइरहेको नगरपालिकाले वडागत रुपमा नर्सहरु परिचालन गरी नागरिकहरुको निरन्तर स्वास्थ्य जाँच गर्दै आइरहेको छ ।
नगरपालिकाले बिहिबार वालिङ–३ माझकोटमा रहेको माझकोट स्वास्थ्य चौकीमा बृहत स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ ।
ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै उनीहरुलाई सहज स्वास्थ्यसेवा प्रवाह गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा निशुल्क वृहत प्रजनन स्वास्थ्य, आँखा शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतका परिक्षण र उपचार गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै शिविरमा महिलाहरुको आँङ खस्ने समस्या, यौन रोग उपचार तथा एचआइभी परीक्षण, ग्रामीण अल्ट्रासाउण्ड र दन्त परीक्षण गरिएको छ ।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख कृष्ण खाँणले नागरिकको स्वास्थ्यप्रति नगरपालिका अत्यन्तै सचेत रहेको बताउनुभयो । उहाँले नागरिकले आफूहरुलाई दिएको जिम्मेवारी सार्थक रुपले बहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुले भाषणमा भन्दा काममा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
नगर प्रमुख खाँणले वालिङ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै नगरमा उपलब्ध स्रोत, साधन र जनशक्तिको उपयोग गरी देशैभरीमा नागरिकमुखी काम गरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले शिविर सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाको निरन्तर कार्यक्रम रहेको बताउनुभयो ।