तोलाकान्त बगाले
वालिङ २१ कात्तिक ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले बजेट पहुँचको आधारमा नभई आवश्यकता र प्राथमिकीकरणको पहिचानका आधारमा ब्यवस्थापन गर्दै आएको बताउनुभएको छ ।
उहाँले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै हरेक क्षेत्रमा फड्को मारेको दावीसमेत गर्नुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले मङ्गलबार वालिङ १२ सिर्सेकोटमा आयोजना गरेको वालिङ नगरपालिकाका स्वास्थ्य संस्था भवनहरुको उद्घाटन एवं विद्युतीय स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले योजनाहरुको लागतका आधारमा तीन वटै सरकारले सिलिङ बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैले स–साना बजेट विनियोजन गर्दा काम प्रभावकारी नहुने भएकाले स–साना योजनाहरु स्थानीय सरकारले गर्ने, स्थानीय सरकारले नसक्ने योजनाहरु प्रदेश सरकारले गर्ने र प्रदेश सरकारले नसक्ने खालका योजनाहरु केन्द्र सरकारले गर्नुपर्ने बताउनुभएको हो ।
“स्थानीय सरकारले छुट्टयाउन सक्ने स–साना बजेट केन्द्र सरकारले छुट्टयाउने गरेको छ” उहाँले भन्नुभयो, “केन्द्र, प्रदेश र स्थानीय सरकारले कति÷कति बजेट सम्मका योजनाहरुको कार्यान्वयन गर्ने भन्ने स्पष्ट हुन आवश्यक छ ।”
गण्डकी प्रदेश सरकारले साना बजेटका योजनाहरुभन्दा पनि ठूला योजनाहरुलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
साना बजेटका योजनाले विकासका सन्दर्भमा खासै महत्व नराख्ने भएकाले प्रदेश सरकारले साना साना योजनाहरुमा बजेट विनियोजन नगरेको उहाँले बताउनुभयो ।
“गाउँका टोल टोलमा के आवश्यकता छ, के कुरालाई प्राथमिकता दिनुपर्छ भन्ने स्थानीय सरकारलाई जति प्रदेश र केन्द्र सरकारलाई जानकारी हुँदैन” उहाँले भन्नुभयो, “साना योजनाहरुको कार्यान्वयन गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिनुपर्छ, स्थानीय सरकारले नसक्ने अलि ठुला योजना प्रदेश सरकारले र प्रदेश सरकारले पनि नसक्ने खालका ठुला योजनाहरुको कार्यान्वयन केन्द्र सरकारले गर्नुपर्छ ।”
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले आर्थिक अभावकाकारण कोही नागरिकले उपचार गर्न पाईन भन्ने अवस्था गण्डकी प्रदेशमा नआउने गरी काम गर्दै आईरहेको बताउनुभयो । उहाँले वालिङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विगतमा र वर्तमान अवस्थामा पनि उदाहरणीय कार्य गर्दै आईरहेको बताउँदै आगामी दिनमा अझै क्रमभङ्गता गर्दै जान सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले नागरिकले दिएको मतको सधैं सम्मान हुने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नागरिकले दिएको जिम्मेवारीबाट कहिले पनि टाढा नहुने र विकास निर्माणमा सँगसँगै अगाडि बढ्ने बताउनुभयो ।
सोही अवसरमा गण्डकी प्रदेशका आर्थिक विकास समिति सभापति भोजराज अर्याल, वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह«े, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा, वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, वडा नं. १२ का वडाअध्यक्ष विश्वजङ्ग गुरुङले स्वास्थ्य संस्थाहरुलाई अझ विशेषज्ञ र उपकरणहरुसहित विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभएको थियो ।
मुख्यमन्त्री पाण्डेले मङ्गलबार नै सिर्सेकोट स्वास्थ्य चौकीको भौतिकरुपमा र नगरपालिकाका अन्य वडामा रहेका १२ वटा नवनिर्मित स्वास्थ्यचौकी भवनहरुको भर्चुअल माध्यमबाट सिर्सेकोटबाट नै उद्घाटन गर्नुभएको हो ।