उम्मेदवारले पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालिम अनिवार्य लिनुपर्ने

0
153
Google search engine

वालिङ, ०८ असोज ।
स्याङ्जाको वालिङ ८ मा प्रधान कार्यालय रहेको उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलन गरी नीति नियमहरुकाबारेमा जानकारी गराएको छ । असोज २९ र ३० गते हुन लागिरहेको ३१औं साधारणसभा तथा ९ औं अधिवेशनका सन्दर्भमा सहकारीले पत्रकार सम्मेलन गरी विविध विषयमा जानकारी गराएको हो । संस्थाले आगामी अधिवेशनकालागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा उम्मेदवार दिनकालागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो तालिममा सहभागिताकालागि पनि सदस्यहरुलाई जानकारीका लागि सबै प्रकारको माध्यमबाट सूचना पु¥याउने कोशिस गरिरहेको छ ।
मंसिर ७ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले पनि कार्यकाल सकिन २ महिना अगावै अधिवेशनमार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी रहेको हो । आश्विन २९ गते सबै सेवाकेन्द्रमा साधारणसभा गरिने छ । सबै सेवाकेन्द्रको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको मुख्य कार्यालय वालिङमा ३० गते साधारणसभा सम्पन्न गर्ने कार्यक्रम रहेको छ । सोमबार संस्थाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष लक्ष्मीपति पौडेलले संस्थाको पारदर्शिताकालागि र आफ्ना सदस्यहरुलाई संस्थाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार भेटघाटको आयोजना गरिएको बताउनुभयो । संस्थाले जनयुद्दको संक्रमणकालीन समय, कोभिड १९को महामारी, आर्थिक मन्दीका विभिन्न समस्याहरुसंँग जुध्दै यहाँसम्म आईपुग्दा पनि संस्थाले आफ्ना सदस्यहरुलाई भरोसा विश्वास कायम राख्न सफल भएको कार्यबहाक अध्यक्ष पौडेलले बताउनुभयो । संस्थाकाबारेमा सदस्यहरुलाई पारदर्शीरुपमा जानकारी गराउँदै आएको उहाँले बताउनुभयो । कार्यक्रममा संस्थाका निमित्त महाप्रबन्धक झलकनारायण पाण्डेले संस्थाको कारोबारका विषयमा जानकार गराउनुभएको थियो भने पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले संस्थाले उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव यज्ञप्रसाद अधिकारीले गर्नुभएको थियो । संस्थाले राहत कोषमार्फत सदस्यहरुलाई मृत्यु संस्कार, असाध्य रोग उपचारमा सहयोग पुगोस् भन्ने हेतुले नगद सहयोग गर्दै आएको छ मातृ शिशु स्याहारकालागि पनि पोषणयुक्त आहारका लागि नगद प्रदान गर्दैै आएको छ ।
यस्ता सेवा सविधा प्राप्त गर्नका लागि संस्थामा नियमित बचत गरेको हुनुपर्ने, कम्तीमा १ वर्ष वा सोभन्दा बढी समय संस्थामा कारोबार गरेको हुनुपर्नेछ । साथै संस्थाले वर्तमान आर्थिक संकटका बेला ऋणी सदस्यहरुलाई टेवा पुग्ने गरी कर्जा लिएर सावा व्याज चुक्ता गर्न कठिनाई भएकाहरुको लागि आँफूले उत्पादन गरेका जिन्सी वस्तु संस्थाले बिक्री गरिदिने र बिक्री बापतको रकमले सावा व्याज चुक्ता गर्न सक्ने व्यवस्था पनि गरेको छ ।
वालिङमा प्रधान कार्यालय रही वालिङसंँगै गल्याङ, चापाकोट, भीरकोट नगरपालिका १, २, ४, ५ र ९, कालीगण्डकी गाउँपालिकाको वडा नं. ३ देखि वडा नं. ७ सम्म, हरिनास गाउँपालिका ६ र विरुवा गाउँपालिका ६ लाई कार्यक्षेत्र बनाएको छ । सहकारीले वालिङ, बायँटारी, केवरे, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मीमा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ । ३ हजार ९१९ महिला र ३ हजार ८७८ पुरुष र १७ संस्थागत गरी ७ हजार ८१४ सेयर सदस्य रहेको सहकारीको बाल बचतकर्ता १ हजार ७२१ रहेका छन् । २१ करोड तरलता रहेको सहकारीको लगानी ४७ करोड ७७ लाख ६४ हजार ६१० रहेको छ । ८२ करोड २ लाख ८ हजार ३३३ कारोबार गरेको संस्थाको सदस्यहरुको बचत ६२ करोड ६० लाख १३ हजार ४०६ रहेको छ । संस्थाको अधिकृत शेयर पुँजी २० करोड रहेको छ भने चुक्ता शेयर पुँजी ७ करोड ६९ लाख ५३ हजार ८०० रहेको छ । २०५० सालमा स्थापना भएको सहकारी गण्डकी प्रदेशकै ठुलो मध्येको सहकारी मानिन्छ ।

Google search engine
Google search engine