वालिङ २७ भदौ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का कृष्णप्रसाद शास्त्री पौडेलले स्वर्गीय परिवारजनको स्मृतिमा रु. आठ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । पौडेलले अक्षय कोष स्थापना गर्नकलागि रु. आठ लाख सोमबार गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो । पौडेलले आफ्ना स्वर्गीय बुवा टिकाराम पौडेल, स्वर्गीय आमा हरिकला पौडेल र धर्मपत्नी लिलादेवी पौडेलको स्मृतिमा ‘हरिटिका लिला स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गर्नुभएको हो ।
“क्यान्सरकैकारण परिवारमा अकालमै मृत्यु हुनुपरेको पीडालाई बुझेको छु, परिवारमा परेको बज्रपात सम्झेको छु” समाजसेवी पौडेलले भन्नुभयो, “कोही कसैलाई पनि यस्तो पीडा नहोस् भन्ने कामना गर्दछु र उपचारकालागि केही सहयोग पु¥याउन सकियोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरेको हुँ ।”
आँधीखोला गाउँपालिका मातहतको सेतिदोभान आधारभूत अस्पतालमा स्थापना भएको अक्षयकोष गाउँपालिकामार्फत सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । “गाउँपालिकाले कार्यविधि बनाईसकेकाले सोही कार्यविधिमा टेकेर पहिलो चरणमा क्यान्सर पीडित विपन्न नागरिकहरुलाई सहयोग गर्छौं” अध्यक्ष पौडेलले भन्नुभयो, “पालिकाभित्रका क्यान्सर पीडित विपन्न आय भएका नागरिकहरु जुनसुकै अस्पतालमा उपचार गराएपनि कार्यविधि अनुसार सहयोग रकम उपलब्ध गराउँछौं ।”
गाउँपालिकाको अध्यक्ष संरक्षक तथा उपाध्यक्ष अध्यक्ष र अन्य सदस्य रहने गरी अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधि बनाईएको अध्यक्ष पौडेलले बताउनुभयो । आफ्नै पिताले हजुरबुवा, हजुरआमा र ठूली आमाको नाममा अक्षयकोष स्थापना गरेको बताउँदै उहाँले आगामी दिनमा यसलाई थप गर्दै लैजाने बताउनुभयो । “सुरुआत आठलाखबाट गरेका छौं यसलाई कम्तिमा पनि बीस लाख पु¥याउने हाम्रो योजना छ” अध्यक्ष पौडेलले भन्नुभयो, “अहिले क्यान्सरबाट प्रभावितलाई मात्रै सहयोग गर्ने भनिएपनि रकम थप भएसँगै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्ने परिवारको सोंच छ ।”