वालिङ, १५ भदौ ।
१६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा स्याङ्जाको कालीगण्डकीमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजनामा भएको अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय विर्घा अर्चलेकी छात्रा राधा पाण्डे प्रथम हुनुभएको हो । ‘पुस्तौं पुस्ताकालागि पुस्तकालय’ विषयक शीर्षकमा गरिएको वक्तृत्वकला प्रतियोगितामा पालिकाभित्रका आठ विद्यालयको सहभागिता रहेको मातृभूमि पुस्तकालयका सचिव नारायणप्रसाद पाण्डेले बताउनुभयो ।
प्रतियोगितामा देउराली माध्यमिक विद्यालयका छात्र विष्णु पाण्डेय द्वितीय, जनहित माध्यमिक विद्यालयका छात्रा एन्जिला राना तृतीय हुनुभएको थियो ।प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला, वडा नं. ४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर पाण्डे, पुस्तकालयका कार्यवहाक अध्यक्ष हिमलाल पाण्डे, कोषाध्यक्ष चुमकला पाण्डेले मातृभूमि पुस्तकालय स्थापना भएसँगै यस क्षेत्रमा पुस्तक पढ्ने बानीको विकास हुँदै गएको बताउनुभयो ।
१६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा स्याङ्जाको विर्घाका जोगप्रसाद पाण्डे सम्मानित हुनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी ४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे सम्मानित हुनुभएको हो । पुस्तकालय क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर लाग्नुभएका पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री अशोककुमार राईले सम्मान गर्नुभएको हो ।