वालिङ
वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गर्ने सम्बन्धमा बैठक सम्पन्न भएको छ । नगर प्रमुख कृष्ण खाँणको अध्यक्षता, ट्राफिक प्रहरी, जीप तथा अटो व्यवसायी र उद्योग वाणिज्य संघका पदाधिकारीहरुको संयुक्त बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको व्यवस्थापनको लागि विभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले वालिङमा सञ्चालित अटो रिक्साको भाडा पनि निर्धारण गरेको छ । अटो रिक्साको भाडा कच्ची सडकमा तीन किमीसम्म प्रतिव्यक्ति रु. १५ कायम गर्ने निर्णय गरेको छ । पक्की सडकमा तीन किमीसम्म प्रति किमी प्रतिव्यक्ति रु. १० कायम गरेको छ । कच्ची सडकमा तीन किमीभन्दा बढी दूरीमा प्रति किमी रु. १० तथा सोही प्रकृतिमा पक्की सडकमा प्रति किमी रु. १५ भाडादर कायम गरेको छ । यसैगरी स्याङ्जा पर्वत प्रालिबाट सञ्चालित जीपहरु भुम्रेचोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निर्णय पनि गरेको छ ।