वालिङ २७ साउन ।
पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट प्रवाह हुने सेवाहरुको विषयमा उद्योगी ब्यापारी ब्यवसायीबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार स्याङ्जाको वालिङमा गरिएको छ । वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त कार्यक्रममा वालिङ क्षेत्रका ५० जना भन्दा बढी उद्योगी ब्यापारी ब्यवसायीहरु तथा उद्यमी महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुँदै घरेलु उद्योग तथा निजी फर्म दर्ता गरी सञ्चालनमा रहेका र ब्यवसाय छोडेका ब्यक्तिहरुले तत्सम्बन्धी पूर्ण ज्ञान नहुँदा समस्या भोग्नुपरेकाले सचेतना जगाउन अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।

समयमा नवीकरण वा फर्म खारेजी नगरी बस्दा धेरै जरिवाना तिर्नु परेको र यसबाट ब्यवसायीहरु निराश बन्न पुगेका हुँदा आगामी दिनमा यस्ता समस्या नदोहोरिने उहाँले बताउनुभयो । ब्यवसायीहरुले आफ्नो ब्यवसाय सञ्चालन गर्दा नेपाल सरकारका विभिन्न तह र कार्यालयहरुमा गर्नुपर्ने दर्ता, नवीकरण एवं ब्यवसाय छोड्दा अपनाउनुपर्ने विधिहरुको राम्रो ज्ञान भएमा मात्र सहज रुपमा ढुक्कसँग ब्यवसाय सञ्चालन गर्ने वातावरण बन्नेमा आँफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख ठाकुरप्रसाद ढकाल र कम्प्युटर अपरेटर कृष्ण लम्सालले अलग अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो क्रममा प्रमुख ढकालले सरल र स्पष्ट रुपमा बिषय वस्तुको जानकारी गराउनुका साथै सहभागीहरुका जिज्ञाशालाई प्रष्ट रुपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्यालले ब्यवसायीले भोग्नुपरेका समस्याहरुकाबारेमा धारणा ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा चालु आर्थिक बर्षमा पर्यटन तथा उद्योग कार्यालय र वालिङ उद्योग वाणिज्य संघबीच साझेदारीरुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न माग गर्दै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले मागपत्र पेश गर्नुभएको थियो । संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीले स्वागत तथा सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।





