वालिङ, २३ असार ।
वालिङ उद्योग वाणिज्य संघले कर शिक्षा प्रदान गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममाथि प्रकाश पार्दै उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठले कर शिक्षाकाबारेमा सबै उद्योगी व्यापारी जानकार हुनुपर्ने बताउनुभयो । उहाँले कतिपय व्यापार व्यवसायमा अन्जानमा भएका गल्तीले धेरै आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था समेत सिर्जना हुने भएकाले करसंँग डराउन नहुने बताउनुभयो । स्वच्छ प्रतिष्पर्धा गर्नुपर्ने भन्दै उहाँले करको छली गरेर व्यवसाय गर्न खोजेमा व्यवसाय सफल हुन नसक्ने बताउनुभयो । उहाँले उद्योग व्यापारको लागि अनुगमनको क्रममा पसल बन्द गर्नुभन्दा अनुगमनकर्ताहरुसंँग राम्रो वातावरण सिर्जना गरेर साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरु एवं उद्योगी व्यावसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कुशल पाण्डेले कर तथा राजस्व सम्बन्धी आधारभूत जानकारीहरु प्रदान गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी र सञ्चालन कार्यालय प्रमुख बाबुराम रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो ।