दलित समुदायको परम्परागत सीपको संरक्षण गर्दै वालिङ

0
100
Google search engine

मणीप्रसाद अर्याल
वालिङ, १९ असार ।
स्याङ्जाको वालिङ नगरपालिका दलित समुदायको परम्परागत सीपको संरक्षणमा लागेको छ । पछिल्लो समय आधुनिकता र नयाँ पुस्ताको परम्परागत सीपमा रुचि कम हुँदै गएका कारण दलित समुदायको परम्परागत सीप विस्तारै हराउँदै जान थालेका बेला नगरपालिका भने परम्परागत सीप संरक्षणमा जुटेको हो । वालिङ नगरपालिकाले दलित समुदायको लागि पञ्चे बाजाका सेट, सिलाई मेसिनहरु प्रदान गरेको हो ।
विभिन्न धार्मिक कार्यमा विशेष गरी विवाह ब्र्रतबन्धमा प्रयोग हुँदै आएको पञ्चेबाजा पछिल्लो समय आधुनिकताका कारण र नयाँ पुस्तामा पुख्र्यौली पेशामा रुचि कम हुँदै जान थालेपछि पञ्चेबाजा लोप हुँदै जान थालेको छ । नगरपालिकाले भने दलित समुदायलाई आयआर्जनसंँग जोड्न तथा परम्परागत पुख्र्यौली पेशालाई निरन्तरता दिन चाहानेहरुकालागि अनुदानमा पञ्चेबाजा र सिलाई मेसिनहरु प्रदान गरेको उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो ।
उपप्रमुख गैह्रेले भन्नुभयो, “हामी दलित समुदायको जीवनस्तरलाई माथि उठाउनका लागि विभिन्न कार्यक्रम गरेका छौं । दलित समुदायले गर्दै आउनुभएको परम्परागत पेशा व्यवसायलाई आधुनिकीकरण गरी अगाडि बढाउनकालागि आधुनिक खालका सिलाई मेसिनहरु उपलब्ध गराएका छौँ ।” नगरमा पिछडिएका समुदायलाई आर्थिकरुपमा सबल तथा सक्षम बनाउन आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उपप्रमुख गैह्रेको भनाई छ ।

Google search engine

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले नगरभित्रका पञ्चे बाजा बजाउने समूह, सिलाई व्यवसाय गर्दै आउनुभएका उद्यमीहरुकालागि मागका आधारमा आधुनिक सिलाई मेसिनहरु उपलब्ध गराईएको बताउनुभयो । नगरभित्रका ६७ जनाले उक्त उपकरणहरु लगेका छन् । एक समूहलाई पञ्चेबाजा सेट, ६ जनालाई जुत्ता सिलाउने आधुनिक मेसिन, २८ जनालाई कपडा सिलाउने मेसिन र अन्यलाई आरन पंखा, वेल्डिङ मेसिन र जस्तापाता वितरण गरिएको छ ।

Google search engine