वालिङ, २ असार ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं चापाकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख शिव गिरीको निधनको शोकमा १३ दिनसम्म पार्टीको कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको उपस्थितिमा जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य राजु थापाको सभापतित्वमा बसेको आकस्मिक बैठकले पार्टीसित सम्बन्धित कुनै पनि औपचारिक कार्यक्रमहरु १३ दिनसम्म नगर्ने नगराउने निर्णय गरेको हो । बैठकले पार्टी कार्यालय स्याङ्जा तथा मातहतका पार्टी कार्यालयहरुका झण्डा तीन दिनसम्म आधा झुकाउने, पार्टी कार्यालय स्याङ्जा तथा मातहतका कार्यालयहरुमा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
गिरीको शवलाई पर्सी सोमबार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म पार्टी कार्यालय स्याङ्जामा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने निर्णय भएको छ । श्रद्धाञ्जलीकालागि पार्टी तथा शुभच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत ईच्छुकहरुलाई पार्टी कार्यालय स्याङ्जामा उपस्थितिकालागि नेपाली कांग्रेस स्याङ्जाले अनुरोध गरेको छ । सोमबार दिउसो अन्तिम संस्कारका लागि ज्याग्दीघाटमा लगिने भएको छ । सवारी दुर्घटनमा परी ज्यान गुमाउनुभएका कांग्रेस नेता गिरीको निधले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस स्याङ्जाका उपसभापति केदार काफ्लेले बताउनुभयो । शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन भनी गहिरो समवेदना प्रकट गरिएको उहाँले बताउनुभयो ।