वालिङ, २० जेठ ।
स्याङ्जाको पुतलीबजार १४ सतौंचण्डीमा प्याराग्लाईडिङको परीक्षण उडान सुरु गरिएको छ । बाबु अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ स्कूल, बाबु एडभेञ्चर क्लब, रोडसाईड प्याराग्लाईडिङको प्राविधिक ब्यवस्थापन, पुतलीबजार नगरपालिका र स्थानीय चण्डीकालिका सुब्यवस्था समितिको ब्यवस्थापन तथा सहयोगमा पूर्वाधार निर्माण गरी परीक्षण उडान गरिएको बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले बताउनुभयो । प्याराग्लाईडिङको परीक्षण उडान सफल भएसँगै अब यसको प्रचार प्रसार र ब्यवस्थापनमा जोड दिई ब्यवसायिक उडान थालिने उहाँले बताउनुभयो । जिल्लामै सञ्चालनमा रहेका कम्पनीहरु तथा बाहिरी कम्पनीहरुले पनि यहाँबाट ब्यवसायिक उडान गर्न सक्नेछन् ।
‘टेकअप’ र ‘ल्याण्डिङ’ पोईन्ट सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, राम्रो हावाको वहाव, आँधीखोलाले बनाएको फाँटहरु, मनोरम हिम दृश्यले मनमोहक भएकाले पनि यहाँ प्याराग्लाईडिङ गर्र्नेको संख्या बढ्ने विश्वास उहाँको छ । यस स्थानबाट ‘स्लो र टेण्डम’ दुवै किसिमको उडान गर्न सकिन्छ ।