वालिङ नगरपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरी छलफल गरेको छ । पालिकामा रहेका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञहरुबीच छलफल भएको थियो । यही शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको र अघिल्लो वर्ष नै १ देखि ५ सम्मको पाठ्यक्रम निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
पाठ्यक्रमलाई समय सान्दर्भिक, आवश्यकतामा आधारित साथै व्यवहारिक, जीवनोपयोगी बनाउन सरोकारवालाहरुबाट राय सुझाव संकलन गरी स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ ।
मस्यौदामाथिको छलफल कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले यसमा कुनै पक्षलाई दोष दिएर कुनै अर्थ नहुने भएकाले सबै सरोकारवालाहरु बौद्धिक व्यक्तित्वहरुसँंगको समन्वयमा शिक्षालाई गति दिन सकिने हुँदा सवैसंँग हातेमालो गरी अगाडि बढ्ने बताउनुभयो । वालिङ नगरपालिका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले हिजोको अवस्था भन्दापनि अवको भविष्य कस्तो हुने भन्ने शिक्षा अवको पाठ्यक्रममा समेट्नुपर्ने बताउनुभयो । पाठ्यक्रमभित्र वालिङ भित्रका सवै पक्षहरु समेटिनुपर्नेमा जोड दिनुभयो ।
पाठ्क्रम निर्माण समितिमा लक्ष्मीप्रसाद रेग्मी, यमबहादुर कुँवर यमकान्त खनाल, भोजराज गुरुङ, तिलक पराजुली, मेघराज गैहे« र हिमलाल पंगेनी रहनुभएको छ । मस्यौदा छलफलमा उठेका विषयहरु पनि पाठ्यक्रममा समावेश गरी प्रकाशन गर्ने पाठ्यक्रम निर्माण समितिले जनाएको छ ।