वालिङ, १७ वैशाख ।
स्याङ्जाको वालिङ ११ मा रहेको डौंवा युवाक्लबले सरसफाई अभियान सञ्चालन गरेको छ । युवाक्लबले थालेको सरसफाई अभियानमा स्थानीयहरुले पनि साथ र सहयोग रहेकाले सरसफाई अभियान प्रभावकारी ढंगले अगाडि बढेको क्लबका अध्यक्ष बद्री पंगेनीले बताउनुभयो ।हातमा कुचो, डस्टविन, बाल्टीहरुसहित युवायुवती तथा स्थानीयबासीहरु स्वतःफूर्त सरसफाई अभियानमा जुट्ने गरेकाले पनि जहाँ पायो त्यहाँ फोहोर फाल्न हुन्न भन्ने सचेतनाले अभियानलाई थप सहयोग पुगेको क्लबका अध्यक्ष पंगेनीले बताउनुभयो । आफ्नो गाउँ ठाउँ तथा सार्वजनिक स्थलहरुको सरफाई अभियानले समाजमा सकारात्मक सन्देश गएको वडा अध्यक्ष डण्डापानी पंगेनीले बताउनुभयो ।
“आफ्नो ठाउँको सरसफाई गर्ने उद्देश्यसहित क्लबले थालेको अभियान अनुकरणीय छ” वडा अध्यक्ष पंगेनीले भन्नुभयो, “यस्ता अभियानहरुमा वडाको पूर्ण साथ र सहयोग रहन्छ, आवश्यक सामग्रीहरु वडाबाट उपलब्ध गराउँछौं ।” अभियानलाई आगामी दिनमा अझै बृहत ढंगबाट निरन्तरता दिंदै लैजान पनि वडा अध्यक्ष पंगेनीले सुझाव दिनुभयो ।