वालिङ, १८ वैशाख ।
स्याङ्जाको वालिङमा कार्यालय स्थापना भएको बाईस वर्षपछि इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । हाल वालिङ ८ कटौंजेस्थित भाडाको घरबाट सेवा दिंदै आएको कार्यालयले वालिङ ९ सुर्कौदीमा सुविधा सम्पन्न भवन निर्माण गरी सेवा दिन थालेको कार्यालय प्रमुख घनश्याम गौतमले बताउनुभयो । “वालिङमा कार्यालय स्थापना भएको बाईस वर्षपछि आफ्नै भवनबाट सेवा दिन पाईएको छ” उहाँले भन्नुभयो, “वालिङमा कार्यालय स्थापना भएको लामो समयपछि आफ्नै भवनबाट सेवा आरम्भ गरिएको छ, सेवाग्राहीलाई सहज हुने विश्वास लिएका छौं ।”
आधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको भवन, आवास, सभाहल, चमेना गृह, पार्किङ, प्रवेशद्वार लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयबाट विनियोजित तीन करोड २२ लाख (भ्याटबाहेक) को लागतमा भवन निर्माण सम्पन्न भएको हो । २०७८ जेठमा भवन निर्माणको ठेक्का पाएको जयनेपाल ईश्वर निर्माण सेवा प्रालिले गत कात्तिकमा भवन निर्माण सम्पन्न गरेको निर्माण ब्यवसायी ईश्वर मल्लले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको मातहतमा रही कार्य सम्पादन गर्ने गरी २०५७ भदौ २७ गते वालिङमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । कार्यालयले शान्ति सुरक्षा र सुब्यवस्था कायम गर्नुकासाथै यस क्षेत्रका स्थायी नागरिकहरुकालागि नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने, नावालक परिचयपत्र जारी गर्ने, राहदानी फारम सङ्कलन गर्ने र तयारी राहदानी जारी गर्दै आएको छ ।
अभिलेखहरु प्रमाणीकरण गर्ने, दलित, जनजाती प्रमाणित गर्ने जस्ता सेवाहरु प्रदान गर्नुकासाथै नेपाल सरकार गृह मन्त्रालय एवं राहदानी विभागद्वारा निर्देशित गर्ने जस्ता सेवाहरु नागरिकलाई प्रदान गर्दै आएको कार्यालयका सूचना अधिकारी सुवास पौडेलले बताउनुभयो ।
स्याङ्जा जिल्लाको जनसङ्ख्या, भौगोलिक अवस्था एवं स्थानीयबासीको माग बमोजिम वालिङमा कार्यालय स्थापना भएको थियो । साविकका ३१ वटा गाविसहरु एवं हालको वालिङ, चापाकोट, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिकाका सवै वडाहरु र भीरकोट नगरपालिकाका ४,५ र ९, हरिनास गाउँपालिकाका ५,६ र ७ नं. वडा, बिरुवा गाउँपालिकाका ६, ७ र ८ नं. वडाहरु यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सूचना अधिकारी पौडेलले बताउनुभयो । स्याङ्जा जिल्लाका एघार पालिकाका ९७ वडामध्ये ५१ वटा वडा यस कार्यालयको कार्यक्षेत्रभित्र रहेका छन् । जिल्लाको मध्यभागमा रहेको यस कार्यालयमा सेवाग्राहीको अत्याधिक भीड हुने गरेको छ ।