EBPS-अनलाईनबाटै हुन्छ घरनक्सा पास, सेवाग्राहीलाई सहज ।

0
331
Google search engine

access domain: ebps.walingmun.gov.np
वालिङ, १६ बैशाख
वालिङ नगरपालिकाभित्रका नागरिक घरनक्सा पास लिन नगरपालिका जानु पर्दैन । सूचिकृत ईञ्जिनियरिङ कन्सल्टेन्सीमार्फत अनलाईनबाटै घरनक्सा पासको निवेदन दिन सकिने भएपछि सेवाग्राही फाईल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको हो ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका ईञ्जिनियरिङ कन्सल्टेन्सीहरुलाई अनलाईन घरनक्सा पास ब्यवस्थापन प्रणालीकाबारेमा प्रशिक्षण दिई सूचिकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।
नगरपालिकामा हाल सात वटा कन्सल्टेन्सीहरु सूचिकृत गराईएको र सोहीमार्फत अनलाईन घरनक्सा पास ब्यवस्थापन प्रणाली (ईविपिएस) अनुसार काम अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
“नगरपालिकाको ईविपिएसमा सूचिकृत भएका कन्सल्टेन्सीहरुमार्फत नागरिकहरुले अनलाईन निवेदन दिनुहुन्छ” उहाँले भन्नुभयो, “सूचिकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजातहरु रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरणहरु पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ ।”
अनलाईन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको ब्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिंदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भईरहेको उहाँले बताउनुभयो ।
फाईल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि ईबिपिएस प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।
वालिङस्थित ईञ्जिनियरिङ कन्सल्टेन्सीहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिएर अनलाईन घरनक्सा पास ब्यवस्थापन प्रणालीको सुरुआत गरिएको नगरपालिकाका घरनक्सा शाखाका कम्प्युटर अपरेटर रञ्जित पौडेल बताउनुहुन्छ ।
अनलाईन घरनक्सा पास ब्यवस्थापन प्रणाली लागू भएसँगै चालु आर्थिक वर्षमा २०७२ को मापदण्ड अनुसार ६० वटा, नियमित अभिलेखीकरण (भूकम्प) २७ वटा र ८५ वटा दर्ता पास भएका अपरेटर पौडेलले बताउनुभयो ।
अनलाईनबाट गरिने घरनक्सा पास प्रणाली प्रभावकारी बन्दै गएको वालिङ ईञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक तथा सिभिल ईञ्जिनियर शंकर बस्यालले बताउनुभयो ।
“यो प्रणाली नयाँ र प्रयोगमा भर्खरै आएकाले पनि सेवाग्राहीलाई बुझाउन सकिएको छैन” उहाँले भन्नुभयो, “अनलाईन माध्यमबाट काम हुने भएकाले आफ्नै पद्धतिबाट काम हुन्छ, राम्रो छ, बुझ्दै जाँदा झनै प्रभाव बढ्दै जान्छ भने सेवाग्राहीलाई सहजता हुन्छ ।”
अनलाईन प्रणालीबाट काम गर्दा कागजातका विवरणहरु भर्दै जाँदा अपुग भएका वा नमिलेका विषयहरु पत्ता लाग्ने भएकाले तत्कालै सच्याउन सकिन्छ ।
सेवाग्राहीले निवेदन दिएपश्चात आफ्नो ‘युजर र लगईन’ को प्रयोग गरेर फाईल कुन शाखामा पुगेको छ भनी घरमै बसेर जानकारीसमेत लिन सकिने सुविधा रहेको छ ।

Google search engine
Google search engine