वालिङ, १२ वैशाख ।
स्याङ्जाको भीरकोट नगरपालिका र मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल काठमाडौंबीच उपचारमा विशेष सहुलियत दिने सम्झौता भएको छ । नगरपालिकाकातर्फबाट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य र अस्पतालकातर्फबाट निर्देशक डा. एन शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर भएको सम्झौता पत्र आज भीरकोट १ बयरघारीमा सञ्चालन भएको निशुल्क शिविरमा अस्पतालकातर्फबाट स्त्री, प्रसुति रोग विशेषज्ञ डा. मनोरदिन सैयद र नगर प्रमुख कर्माचार्यबीच आदान प्रदान भएको हो । भीरकोट नगरपालिकाभित्रका पदाधिकारी, सदस्य, कर्मचारी, निजहरुका परिवारका सदस्यहरु, गरिव तथा असाह्य वर्ग, स्थानीय वासिन्दाहरुको परिचय खुल्ने कागजातका आधारमा उपचारमा विशेष सहुलियत दिईने डा. सैयदले बताउनुभयो ।
“भीरकोट नगरपालिकाको सिफारिसको आधारमा यस अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवाहरु सर्वसुलभ र गुणस्तरीयरुपमा प्रदान गर्ने दुई पक्षबीच सहमति भएको छ” उहाँले भन्नुभयो, “ईएचएस र आउट सोर्सिङ सेवा बाहेकका सेवाहरु सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजीमा १५ प्रतिशत र अन्य विशेष सेवाहरु जनरल क्याविन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईण्डोस्कोपी र फिजियोथेरापीमासमेत १० प्रतिशत छुट दिई सेवा उपलब्ध गराउँछौं ।”
८० वर्षदेखि माथि उमेरका ज्येष्ठ नागरिकहरुलाई ५० प्रतिशत र ७० वर्षदेखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकहरुलाई २५ प्रतिशत छुटको ब्यवस्था रहेको उहाँले बताउनुभयो । अस्पतालले प्रदान गर्ने सामान्य तथा विशेष स्वास्थ्य प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने सम्झौतामा उल्लेख छ । “गरिव तथा असाह्यको सिफारिस भई आएको हकमा २० प्रतिशत छुटमा सेवा उपलब्ध गराउँछौं” उहाँले भन्नुभयो, “नगरपालिकाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई मात्र सिफारिस गर्नुपर्ने छ ।”
स्वास्थ्य उपचारसँगै अस्पतालको फार्मेसीबाट औषधि खरिद गरेको खण्डमा १० देखि १५ प्रतिशतसम्म अस्पतालले छुट उपलब्ध गराउने बताउनुहुन्छ अस्पतालका स्त्री, प्रसुति रोग विशेषज्ञ डा. मनोरदिन सैयद ।
नगरपालिका र अस्पतालबीच पाँच वर्ष अवधि रहनेगरी सम्झौता भएको नगर प्रमुख कर्माचार्यले बताउनुभयो । भीरकोटका बासिन्दाकालागि यो एउटा अवसर हो । नगरपालिकाको सिफारिससहित अस्पताल पुग्नुभएमा उपचारमा विशेष छुट त पाउनुहुन्छ नै त्यसको अलावा वर्षेनी यहीँ आएर विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हुने छ । भीरकोटका नागरिकको स्वास्थ्यका क्षेत्रमा यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास नगर प्रमुख गोविन्दकुमार कर्माचार्यको छ ।
शिविर सञ्चालनका अवसरमा बोल्नुहुँदै नगर उपप्रमुख भगवती अर्याल रेग्मीले नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनकालागि अस्पताल र नगरपालिकाबीच सम्झौता भएको र यसले आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा उपलब्धीहरु देखिदै जाने बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता दिपेन्द्र केसीले आफ्नै गाउँ ठाउँमा विशेषज्ञसहितको टोलीबाट स्वास्थ्य उपचार गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । नगरपालिका र अस्पतालको संयुक्त आयोजनामा भएको विशेषज्ञसहितको एकदिने निशुल्क स्वास्थ्य शिविरमा यहाँका स्थानीयले सेवा लिएका छन् । शिविरमा स्त्री, प्रसुति तथा पाठेघरको क्यान्सर जाँच, हाडजोर्नी तथा नसा रोग, नाँक, कान, घाँटी रोग, भिडियो एक्सरे, भिआईए टेष्ट, जनरल मेडिसिन तथा निशुल्क औषधि वितरण र परामर्श दिईएको थियो ।