वालिङ, ११ बैशाख
स्मार्ट सिटीको अवधारणा बमोजिम अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाको नागरिक बडापत्र र वेवसाईटलाई अपाङ्गमैत्री बनाउन सुझाव दिईएको छ । नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाकाबारेमा अपाङ्गता भएका नागरिकहरुलाई सुसूचित गराउनकालागि डिजिटल नागरिक बडापत्र तथा वेवसाईटलाई अपाङ्गमैत्री बनाउन सुझाव दिईएको हो ।अपाङ्गता भएकाहरुको हकअधिकारकाबारेमा सुसूचित गराउने उद्देश्यसहित गठन भएको पैरवी समूहले नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाकाबारेमा अपाङ्गता तथा भिन्न क्षमता भएका नागरिकहरुको पहुँचमा पु¥याउन डिजिटल नागरिक बडापत्र र वेवसाईट अपाङ्गमैत्री बनाउन सुझाव दिईएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवं पैरवी समूहका संयोजक रामप्रसाद शर्मा पोख्रेलले बताउनुभयो ।
अडियो भिडियोसहितको नागरिक बडापत्र निर्माण गर्ने, स्थानीय तहमा बनेका ऐन, कानून तथा कार्यविधिहरुको अध्ययन गरी अपाङ्गतामैत्री बनाउनकालागि सुझाव दिईएको उहाँले बताउनुभयो । स्मार्ट नगरपालिकाको अवधारणा अनुसार अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको वेवसाईट तथा अन्य सूचनाहरु अपाङ्गमैत्री बनाउन सकेको अझ प्रभावकारी बन्दै जाने भएकाले यस विषयमा पनि नीति तथा कार्यक्रममा समेटी बजेट विनियोजन गर्न सुझाव दिईएको उहाँले जानकारी दिनुभयो । पैरवी समूह गठन भएसँगै अपाङ्गताका क्षेत्रमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको र त्यसले राम्रो प्रभाव पारेको स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष युवराज पराजुलीले बताउनुभयो ।
पैरवी समूह गठनसँगै जनप्रतिनिधि, कर्मचारी तथा अपाङ्गता भएकाहरु र परिवारहरुसमेत आ–आफ्नो काम कर्तब्य र अधिकारप्रति सचेत हुनुभएकाले पनि उपलब्धी राम्रो भएको पराजुलीले बताउनुभयो ।वालिङ नगरपालिकालाई सबै दृष्टिकोणबाट अपाङ्गमैत्री बनाउन तयार रहेको नगर उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो । “नगरपालिकाले यसअघि निर्माण गरिसकेका भौतिक पूर्वाधारहरुलाई अपाङ्गमैत्री बनाउन पहल गर्दै जान्छौं” उहाँले भन्नुभयो, “अब नयाँ बन्ने भौतिक पूर्वाधारहरुलाई अनिवार्यरुपमा अपाङ्गमैत्री बनाउन नगरपालिका प्रतिवद्ध छ ।”
आगामी बजेट निर्माण गर्दा देखावटी भन्दापनि नतिजामुखी होस् भन्ने आँफूहरुको चाहना भएको उहाँले बताउनुभयो । “कार्यक्रम तथा योजनाहरु बनाउँदा लक्षित वर्गसम्म पुग्ने र दीगो विकास हुने गरी कामलाई अगाडि बढाउन हामी प्रतिवद्ध छौं” उहाँको भनाई थियो । वालिङ नगरपालिकाको प्रशासकीय भवनको दोस्रो तलामा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज तरिकाले जानकालागि भवनको साईडबाट ¥याम हाल्ने तयारी भएको उहाँले बताउनुभयो ।
“पहिल्यै बनिसकेका भवनहरुलाई के कसरी मर्मत गरी अपाङ्गमैत्री बनाउन सकिन्छ त्यसमा ध्यान दिन्छौं” उहाँले भन्नुभयो, “अब बन्ने नयाँ संरचना तथा भौतिक पूर्वाधारहरुमा अनिवार्यरुपमा अपाङ्गमैत्री बनाउनुपर्छ भन्नेमा हामी प्रतिवद्ध छौं र कार्यान्वयनमा जोड दिन्छौं ।” नागरिक बडापत्र तथा वेवसाईटलाई श्रब्य दृश्यसहित बनाउन प्रक्रिया अगाडि बढाईएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।