वालिङ
स्याङ्जाको गल्याङ नगरपालिका र हेफर ईन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । गल्याङ नगरपालिकामा ‘कृषि तथा पशु उद्यमशिलता विकास परियोजना’ सञ्चालन गर्नकालागि नगरपालिका र हेफर ईन्टरनेशनलका प्रतिनिधिबीच सम्झौता भएको हो ।
कृषि र पशुपालनका क्षेत्रमा यहाँ प्रचूर संभावना रहेकाले यहाँका नागरिकलाई उत्पादनसँग जोड्ने उद्देश्यले साझेदारीमा परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।
“उपभोगमा रमाउँदै गरेको पुस्तालाई उत्पादनसँग जोड्न यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो बुझाई छ” उहाँले भन्नुभयो, “कृषि र पशुजन्य वस्तुको उत्पादनमा जोड दिंदै नगरभित्र आयात रोक्दै निर्यात गर्न सकेमात्रै पनि यहाँको आर्थिक विकास हुने थियो ।”
विदेशमा बगाएको पसिनाले देशमा भित्रिएको रेमिट्यान्स विभिन्न बाहनामा फेरि विदेश नै जाने गरेको परिवेशमा युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी यहीँ स्वरोजगार बनाउने लक्ष्यसहित अगाडि बढेको उहाँले बताउनुभयो । २७ महिनासम्म सञ्चालन हुने परियोजनाले विशेष गरी कृषि तथा पशुपालन, उत्पादन तथा बजारीकरणका क्षेत्रमा कार्य गर्ने पशु शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो । नगरपालिकाको ७० प्रतिशत र हेफर ईन्टरनेशनलको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालन हुने भएको हो । परियोजना सञ्चालन गर्न कूल रु. तीन करोड १४ लाख २५ हजार ५१७ लागत लाग्ने भएको छ । परियोजनाबाट नगरभित्रका एक हजार एकसय घरधुरीका महिला तथा तीनसय घरधुरीका युवाहरु प्रत्यक्ष लाभान्वित हुने छन् । युवाहरुलाई कृषि र पशुपालनका क्षेत्रमा आकर्षित गरी स्वरोजगार र उद्यमशिलताको विकास गरिने शाखा प्रमुख अर्यालले बताउनुभयो ।