एघार हजार ५०० बाख्रालाई पिपिआर विरुद्धको खोप

0
354
Google search engine

वालिङ
स्याङ्जाको चापाकोट नगरपालिकाले टोल टोलमा पुगेर एघार हजार ५०० बाख्रालाई पिपिआर विरुद्धको खोप लगाएको छ । बाख्रामा देखिने श्वासप्रश्वाससम्बन्धी समस्या समाधानको पूर्व तयारीस्वरुप दश वटै वडाका टोल टोलमै पुगेर निशुल्क पिपिआर विरुद्धको खोप लगाईएको प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनालले बताउनुभयो । उहाँका अनुसार चापाकोट नगरपालिकाले थालेको अभियानमा नगरपालिकाका कर्मचारी, किसान बहुप्राविधिक शिक्षालयका भेटेरिनरी डाक्टर र विद्यार्थीसहिति ३८ जना परिचालन गरी खोप लगाईएको हो । विषाणुकाकारण विशेष गरी भेंडा बाख्रामा देखिने यो महामारी रोग फैलन नदिन पूर्व सावधानी अपनाउँदै टोल टोलमै पुगेर खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
“यो रोगका कारण हुनसक्ने संभावित क्षति न्यूनिकरणका गर्न निशुल्क पिपिआर खोप अभियान सञ्चालन गरेका हौं” उहाँले भन्नुभयो, “नगरपालिकाले चालेको अभियानमा भेटेरिनरी डाक्टर, विद्यार्थी तथा पशुपालक किसानहरुको साथ र सहयोगले अभियान प्रभावकारी रह्यो ।”
थोरै बाख्रा पाल्ने किसानको टोल टोलमै पशु चिकित्सकहरु खोपसहित पुगेर खोप लगाईएको हो । ब्यावसायिकरुपमा बाख्रापालन गरेका फार्मको हकमा फार्ममा नै पुगेर खोप लगाईएको पशु सेवा शाखाका प्राविधिक भुपराज भण्डारीले बताउनुभयो ।
असार, साउनमा यो रोग देखिन सक्ने भएकाले बाख्राहरुमा रोग लाग्न नदिन पूर्व तयारीकालागि खोप लगाईएको उहाँले बताउनुभयो । चापाकोट नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाबाट खोप ब्यवस्थापन गरिएको हो । गत चैत १७ देखि २८ गतेसम्म नगरपालिकाका दश वटै वडाका टोल टोलमा पुगेर जन्मेदेखि तीन महिना माथिका सबै बाख्रालाई खोप लगाईएको उहाँले बताउनुभयो । “नगरपालिकाले टोल टोलमै पुगेर निशुल् पिपिआर खोप लगाईदिने अभियान सञ्चालन गरेपनि कतिपय किसानहरु खोप लगाईदिन सुरुमा डराउनुभयो” उहाँले भन्नुभयो, “खोपकाबारेमा किसानहरुलाई परामर्श दिएपछि लगाईएको र यसको प्रभाव राम्रो रहेको छ ।”
ज्वरो, खोकी लाएका, सुत्केरी हुने बेला भएका वा चरनमा लगेकाकारण छुटेका बाख्राहरुलाई पुनः खोप लगाईदिने तयारी भएको उहाँले बताउनुभयो । बिरामी बाख्रा वा भेंडाको प्रत्यक्ष सम्पर्कमा आएका र विषाणु भएको दाना, घाँसपात तथा रेखदेख गर्ने मानिसको माध्यमबाट यो रोग सर्न सक्दछ । पिपिआर रोग लागेका बाख्रा तथा भेंडामा ज्वरो आउने, झोक्राउने, मुख सुख्खा हुने, घाँसपात, दाना नखाने जस्ता लक्षणहरु देखा पर्ने उहाँले बताउनुभयो । बथानमा एकैपटक धेरैको संख्यामा बिरामी पर्ने, आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिंगान बग्ने, मुख तथा गिंजामा घाउहरु देखिनु पिपिआरका लक्षणहरु हुन् । रोग लाग्नै नदिन पूर्व तयारीसहित नगरपालिकाले थालेको निशुल्क खोप अभियानले थप उर्जा र हौसला मिलेको महशुष पशुपालक किसानहरुले गरेका छन् ।

Google search engine
Google search engine