तोलाकान्त बगाले
वालिङ, ४ बैशाख ।
स्याङ्जाको वालिङ नगरपालिका ५ पाँडेथोक र वडा नं. ६ को पाखुरेमा एकहप्तादेखि पानी आएको छैन । बनमा आगलागी हुँदा गाउँमा ल्याईएको खानेपानीको पाईप पोलिएपछि यहाँका ३७ घरमा एकहप्तादेखि खानेपानीको समस्या भएको छ । छरछरे–पाँडेथोक सिञ्चाई तथा खानेपानी योजना अन्तर्गतको करीव एक किलोमिटर पाईप आगोले पोलिएपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष निलकण्ठ लामिछानेले बताउनुभयो ।
मुहानदेखि गाउँसम्म दुई ईञ्चको पाईपमा करिव एकहजार ६५० मिटर परबाट ल्याईएको छ । २०६३ सालमा मुल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका बासिन्दाले घर घरमै पानी उपभोग गर्दै आएका थिए ।
“आगलागीकाकारण ठूलो क्षति भएपछि अहिले मानिसले पिउने, गाईवस्तुलाई खुवाउने तथा तरकारीमा हाल्नकालागि पानीको हाहाकार मञ्चिएको छ” उहाँले भन्नुभयो, “गोलभेंडाको पकेट क्षेत्र भनेर चिनिएको यस ठाउँमा मौसमी तथा बेमौसमीरुपमा लगाईएका विभिन्न प्रजातिका तरकारीहरु ओईलाएर मर्न थालेकाले यहाँका किसानहरु चिन्तित छन् ।”
मानिसले खाने, गाईबस्तुलाई खुवाउने र तरकारीमा सिञ्चाई गरिंदै आएको पानीको पाईप पोलिएसँगै अहिले गाउँमा निक्कै समस्या भएको वडा नंं ५ का वडा सदस्य रामप्रसाद लामिछानेले बताउनुभयो ।
“आगलागीबाट गाउँमा ल्याईएको पानीको पाईपमा पुगेको क्षतिको विवरण निकालेका छौं” उहाँले भन्नुभयो, “झण्डै एक किलोमिटर पाईप नष्ट भएको छ, नयाँ पाईप हाल्नुपर्ने अवस्था रहेको छ ।”
वडासँग नष्ट भएको पूरै पाईप फेर्ने बजेट नभएकाले नगरपालिका आवश्यक समन्वय र पहल गरिएको र छिट्टै खानेपानी उपलब्ध गराईने वडा अध्यक्ष छबि आलेले बताउनुभयो । हिउँदको समयमा गाउँ घरमा रहेका पुराना पानीका स्रोतहरु सुकेकाले सिङ्गो बस्तीमै खानेपानीको चरम अभाव रहेको छ । आगलागीकाकारण गाउँमा ल्याईएको पानीको पाईप नष्ट भएकाले ठूलो क्षति पुगेको छ । खानेपानी, पशु चौपायालाई पानी बोकेर खुवाईने गरेतापनि बोट बिरुवामा पानी हाल्न नपाउँदा तरकारीका बोट बिरुवा मर्न थालेकाले किसानहरु चिन्तामा पर्नुभएको छ । खानेपानीको समस्या समाधान गर्नकालागि आवश्यक प्रक्रिया थालिएकाले अब छिट्टै गाउँमा खानेपानी आउने दावी अध्यक्ष आलेको छ ।