तोलाकान्त बगाले
वालिङ, ५ भदौ ।
स्याङ्जाको वालिङमा शनिबारदेखि प्रथम जिल्लास्तरीय पावर लिफ्टिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेश सभाका पूर्व सदस्य भागवतप्रकाश मल्लले खेलाडीहरूलाई पूर्णरूपमा सुरक्षित भएर आफ्नो खेल कौशल प्रदर्शन गर्न अनुरोध गर्नुभयो । पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिताको निरन्तरताको कामना गर्दै उहाँले यस्ता खेलकुद कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई राष्ट्रियस्तरसम्म पुग्न र आफ्नो क्षमता देखाउन ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले वालिङमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै खुसी व्यक्त गर्नुभयो । पूर्व प्रदेश सभा सदस्य मोहनप्रसाद रेग्मीले अनुशासित भएर खेल प्रस्तुत गर्न खेलाडीहरूलाई सुझाव दिनुभयो ।

आयोजकका अनुसार आज एकदिन मात्र सञ्चालन हुने यस प्रतियोगितामा पुरुषतर्फ ८० केजीभन्दा कम, ६० केजीभन्दा कम तथा पुरुष र महिला दुवैतर्फ खुल्ला प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

आयोजक संस्थाका अध्यक्ष जगत रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव डण्डु पंगेनीले गर्नुभएको थियो ।






