गोपिकृष्ण रेग्मी
चापाकोट, ४ भदौ ।
द राइजिङ ग्रुप चापाकोटको बैठक विभिन्न महत्वपूर्ण सामाजिक तथा खेलकुदसम्बन्धी निर्णय गर्दै सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लालबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले विद्यालय तथा मुख्य दोबाटोमा जेब्रा क्रसिङ निर्माण गर्ने, पोखरा–कास्कीमा संस्थाको शाखा विस्तार गर्ने, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने र आगामी असोजदेखि कालीगण्डकी गोल्ड कप–२०८३ आयोजना गर्ने निर्णय गरेको हो। संस्थाका सल्लाहकार, वडा अध्यक्ष तथा समितिका पदाधिकारीबीच भएको छलफलपछि उक्त निर्णय गरिएको संस्थाका सचिव गोपिकृष्ण रेग्मीले जानकारी दिनुभयो। बैठकको निर्णयअनुसार पहिलो चरणमा गंगालाल माध्यमिक विद्यालय अगाडि जेब्रा क्रसिङ निर्माण गरिसकिएको छ। त्यसैगरी जनज्योति मावि बोटेटार, जनहित मावि दामाचौर, सिद्धबाबा बोर्डिङ, पेट्रोल पम्प, भूपू बोर्डिङ, बुद्ध बोर्डिङ, क्वामी चोक तथा राधादामोदर मावि साखर लगायतका स्थानमा पनि जेब्रा क्रसिङ निर्माण गरिने जनाइएको छ। सडक सुरक्षा मजबुत बनाउँदै विद्यार्थी तथा सर्वसाधारणको आवतजावतलाई सुरक्षित बनाउने उद्देश्यले जेब्रा क्रसिङ निर्माण अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ। त्यस्तै, युवाहरूलाई लागुऔषधको जोखिमबाट जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। सामाजिक गतिविधिलाई थप विस्तार र प्रभावकारी बनाउन पोखरा–कास्कीमा राइजिङ ग्रुपको शाखा विस्तार गर्ने निर्णयसमेत गरिएको छ।
असोजदेखि कालीगण्डकी गोल्ड कप
बैठकले आगामी असोजदेखि कालीगण्डकी गोल्ड कप–२०८३ सञ्चालन गर्ने निर्णय गरेको छ। खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाले जनाएको छ। गोल्ड कपको मिति, स्थान तथा अन्य आवश्यक विषय टुंगो लगाउन भदौ ६ गते शनिबार जनप्रतिनिधि, खेलाडी तथा खेलप्रेमीहरूको भेला आयोजना गरिने र सोही भेलाबाट प्रतियोगिताको मिति तय गरिने जनाइएको छ। संस्थाले सामाजिक अभियान तथा खेलकुद कार्यक्रमहरू दाताहरूको सहयोगमा सञ्चालन गर्न लागिएको जनाएको छ। कार्यक्रमलाई सफल बनाउन इच्छुक व्यक्ति, संघसंस्था तथा शुभेच्छुकहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन राइजिङ ग्रुप चापाकोटले अनुरोधसमेत गरेको छ।





