वालिङ, २६ साउन । एकीकृत सेवा कार्यालय स्याङ्जा र जिल्लामा रहेका उद्योग तथा व्यवसायी संघ संस्थाका नेतृत्वकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयको सेवा प्रवाहलाई नागरिक मैत्री बनाउदैँ उद्योग, व्यापार र पर्यटन क्षेत्रको बहुआयमिक विकासमा हातेमालो गरेर अगाडी बढ्ने विषयमा छलफल भएको छ । कार्यक्रममा उद्योग तथा व्यवसायको दर्ता, नविकरण, खारेजी , नामसारी लगायतका विषयमा सरलीकरण गरेर सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सिपमूलक तालिम र अनुदानका कार्यक्रमहरुलाई प्रभावकी ढंगबाट सञ्चालन गर्ने, उत्पादनलाई गुणस्तरीय बनाउने र समग्र स्याङ्जाको व्यवसायीक क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् ।
कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, चेम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष श्री बहादूर गुरुङ, उपभोक्ता हित संरक्षण मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद मरासिनी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम श्रेष्ठ, होटल व्यवसायी संघ स्याङ्जाका महासचिव ओमप्रकाश पौडेल, वालिङ उद्योग वाणिज्य संघका महासचिव विमल अर्याल र कार्यकारी सचिव वावुराम रेग्मी , ब्युटी पार्लर एसोशियसन स्याङ्जा अध्यक्ष माया गोरखाली, महिला उद्यमी संघ स्याङ्जाका अध्यक्ष चन्द्रकला राना, लगायतले बोल्नुभएको थियो । उहाँहरुले राज्यले व्यवसायी मैत्री वातावरण बनाउदै जानु पर्ने र निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
गण्डकी प्रदेश सरकारको आर्थिक ऐनले विभिन्न समयमा दर्ता भई हालसम्म नवीकरण नगरेका उद्योग, वाणिज्य र पर्यटन व्यवसाय सञ्चालकले २०८४ वैशाख मसान्तसम्म नवीकरण वा खारेजीको लागि निवेदन दिएमा नियमअनुसार लाग्ने शुल्क र दस्तुर बुझाएमा सबै जरीवाना छुट दिएकोमा उहाँहरुले खुसी व्यक्त गर्नु भएको थियो ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले यस किसिमको कार्यक्रमले सरकार र नीजि क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुको साथै कार्यालयबाट प्रवाह हुने सेवामा सुधार गर्न टेवा पुग्ने विश्वास व्यक्क्त गर्नु भयो । उहाँले उपभोक्ता सचेतना सँगै व्यवसायीहरुलाई समेत विभिन्न सचेतना र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने जानकारी लिनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाका लेखा अधिकृत ईश्वर आचार्यले करदाता शिक्षालाई सबै व्यवसायीहरुसँग पुर्याउदै कोष तथा लेखा नियमन्त्रण कार्यालय स्याङ्जाले कर सम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजाने बताउनु भयो ।
उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास र विस्तारले नै रोजगार अभिबृद्धि भई मुलुकको समग्र विकास र समृद्धिमा सहयोग पुग्ने भएकोले जिल्लाका ११ वटै स्थानीय तहका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम गरी प्राप्त सुझावलाई कार्यान्वयन गर्दै लगिने बताउनु भयो ।एकीकृत सेवा कार्यालयका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अधिकृत खुमलाल ढकालले गर्नु भएको थियो ।





