जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

0
1
Google search engine

वालिङ २१, जेठ ।

Google search engine

जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र कालिगण्डकी गाउँपालिकाको समन्वयमा दिवसका अवसरमा कालिगण्डकी गाउँपालिका चण्डीभञ्ज्याङमा विविध कार्यक्रम गरी मनाइएको हो । अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा बोल्दै कालिगण्डकी गाउँपालिकाकी कार्यबहाक अध्यक्ष सावित्रा कोइरालाले समाजमा हुने कुनै पनि किसिमको विभेद विरुद्ध आवाज उठाउनु पर्ने कुरामा जोड दिदैँ यस्ता रचनात्मक कार्यक्रमले सिंगो सामाजमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलित समुदायको उन्नति र हितकालागि सचेतनासँगै सिप र उद्यमशीलताका काम गर्न पालिकाले जोड दिएको बताउनुभयो ।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले सामाजिक न्याय र समानतामूलक समाज निर्माणमा सबैको हातेमालो आवश्यक रहेको औँल्याउदै सरकारले पछि परेका समुदायको जीवनस्तर माथि लैजान सीप विकास र उत्पादनमूलक कार्यक्रममा जोड दिने बताउनुभयो ।
उहाँले अझै पनि देशका विभिन्न क्षेत्रमा जातीय भेदभावका घटना सुनिने गरेको हुँदा सचेतना सहितको शिक्षा र प्रभावकारी कानूनको कार्यान्वयनमा जोड दिनुभयो । कार्यक्रममा कालीगण्डकी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णबहादुर लामिछानेले समाजमा कुनै प्रकारको विभेद सिर्जना हुन नदिइने बताउनुभयो । कार्यक्रममा कालीगण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भीम श्रेष्ठ, प्रहरी चौकी कालीगण्डकीका सहायक हवल्दार सुनिल सेन लगायतले कानून कार्यान्वयनसँगै सचेतनाबाट विभेद अन्त्य गर्न सकिने बताउनुभयो ।

आमा समूह, नागरिक समाज, विद्यार्थी, स्थानीय बासिन्दाको सहभागितामा सम्पन्न कार्यक्रममा साहित्य र सिर्जनामार्फत समानताको आवाजको लागि विभिन्न गीत, कविता, नृत्य प्रस्तुत गर्ने सहभागीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिकृत भिमप्रसाद उपाध्यायले गर्नुभएको थियो । नेपाल सरकारले २०६३ साल जेठ २१ गते मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ ।

Google search engine