निकिता पाठक
चापाकोट, १९ जेठ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अपाङ्गता भएका युवकलाई घरदैलोमै पुगेर नागरिकता प्रमाणपत्र दिएको छ । स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौरका १८ वर्षीय घनश्याम कडेललाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट गएको कर्मचारीको टोलीले मंगलबार अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । वडा कार्यालयले आवश्यक सबै कागजात तथा प्रक्रिया पूरा गरेपछि अपाङ्गताा भएका ढकाललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका नायव सुब्बा रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको हस्ताक्षरमा नेपाल नागरिकता ऐन २०६३ बमोजिम अंगिकृत नागरिकताको प्रमाणपत्र दिईएको हो ।
यसअघि गृह मन्त्रालयले उपलब्ध गराउँदै आएको अंगिकृत नागरिकता गत चैतदेखि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने व्यवस्था भए बमोजिम २०८३ बैशाख २४ गतेको निर्णय गरेर नागरिकता प्रमाणपत्र दिईएको नासु पौडेलले जानकारी दिनुभयो ।

परिवारका दिदी र भाईले नागरिकता प्रशासन कार्यालयमै पुगेर लिएपनि उहाँ अपाङ्गता भएकैकारण सदरमुकामसम्म आउजाउमा समस्या हुने भएकाले घरमै पुगेर दिईएको हो ।
“जिल्ला प्रशासन कार्यालयबाट अंगिकृत नागरिकता उपलब्ध गराउने व्यवस्था भएसँगै हालसम्म स्याङ्जामा आठ जनालाई नागरिकता प्रमाणपत्र उपलब्ध गराईएको छ” उहाँले भन्नुभयो, “सम्बन्धित वडा कार्यालयले सहजीकरण तथा सिफारिस गरेका आधारमा अति विपन्न, अपाङ्गता भएर कार्यालयसम्म आउन नसक्नेहरुलाई घरमै पुगेर प्रमाणपत्र उपलब्ध गराउँदै आएका छौं ।”
शारीरिक अवस्थाकाकारण प्रशासन कार्यालय पुग्न असहज भएपछि पूर्ण अपाङ्गता भएका ढकाललाई घरबाटै नागरिकता उपलब्ध गराउन अनुरोध गरेपछि प्रमाणपत्र उपलब्ध गराईएको वडा अध्यक्ष टोपलाल न्यौपानेले जानकारी दिनुभयो । घरमै नागरिकता प्राप्त गरेपछि कडेल तथा उहाँको परिवारजनले खुसी व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनिधिप्रति आभार प्रकट गर्नुभएको छ । यस प्रकारको घरदैलो सेवा अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा विभिन्न कारणले सरकारी कार्यालयसम्म पुग्न नसक्ने नागरिककालागि उदाहरणीय कार्य भएको स्थानीयवासीको भनाइ छ ।





