वालिङ, २२ माघ ।
स्याङ्जामा माग गरिए अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि छिमेकी जिल्लाहरुबाट पूर्ति गरिएको छ । आगामी फागनु २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी दुई हजार बढी निर्वाचन प्रहरी माग गरिएकोमा पाँच सय ७ जना निर्वाचन प्रहरी अपुग भएपछि छिमेकी जिल्ला कास्की, तनहुँ र नवलपुरबाट ल्याएर पूर्ति गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार नवलपुरबाट दुई सय ९० जना, कास्कीबाट एक सय ४० जना र तनहुँबाट ६७ जना निर्वाचन प्रहरी स्याङ्जामा ल्याईएको हो ।
“स्याङ्जा जिल्लामा पाँच सय ७ जना निर्वाचन प्रहरी अपुग रहेको थियो” उहाँले भन्नुभयो, “जिल्लामा माग भएअनुसार आवेदन नपरेपछि अन्य जिल्लाबाट व्यवस्थापन भएको र अझै दश जना अपुग रहेको छ ।” तीन जिल्लाबाट चार सय ९७ जना निर्वाचन प्रहरी ल्याईएको छ । निर्वाचन प्रहरीहरुलाई गत आईतबारदेखि तालिम दिन सुरु गरिएको छ । निर्वाचन प्रहरीलाई २७ गतेसम्म तालिम दिएर जिल्लाका विभिन्न प्रहरी कार्यालय, प्रहरी चौकीहरुमा पठाईने उहाँले जानकारी दिनुभयो ।
२–२ पटक थपिएको समयावधिमा पनि मागका आधारमा आवेदन नपरेपछि प्रदेश प्रहरी कार्यालय पोखरामा पदपूर्तिकालागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लेखेर पठाएको थियो । “पटक–पटक सूचना गरेर आवेदन खुलाउँदा पनि संख्या अपुग भयो” उहाँले भन्नुभयो “यहाँको सबै गतिविधि तालुकदार निकायमा लेखेर पठाएका थियौैं, आवेदन धेरै परेका छिमेकी जिल्लाहरुबाट यहाँ पूर्ति भएको हो ।” जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ३० नं गुल्मलाई गरी कूल दुई हजार एकसय २६ निर्वाचन प्रहरी माग गरिएकोमा एक हजार ६ सय १९ जना निर्वाचन प्रहरीकालागि उत्तीर्ण भएका थिए ।
निर्वाचन प्रहरी मागकालागि पुस २५ देखि माघ १ सम्म विभिन्न सञ्चारमाध्यम तथा प्रहरी कार्यालयको सामाजिक सञ्जालमार्फत सूचना प्रकाशन, प्रसारण गरिएको थियो । तोकिएको उक्त समयमा माग संख्याभन्दा थोरैको आवेदन परेपछि पुनः माघ २ र ३ गते गरी दुई दिन थप गरिएको थियो । थपिएको समयमा केही संख्या थप भएपनि पुनः माग अनुसार संख्या पुगेन । माग अनुसार आवेदन नपरेपछि पुनः माघ १० र ११ गते सूचना प्रकाशन, प्रसारण गरेर आवेदन दिन सूचित गरिएको थियो ।
स्याङ्जामा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, सशस्त्र प्रहरी बल ३० नं गुल्म वालिङ र इलाका प्रहरी कार्यालय चापाकोटमा निर्वाचन प्रहरीकालागि आवेदन दिन सकिने व्यवस्था मिलाईएको थियो ।





