वालिङ, १० माघ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको आठौं स्थापना दिवस आज मनाईएको छ । वालिङ ८ घ्याङ्लिङमा रहेको सशस्त्र प्रहरी बल गुल्मकारुपमा स्थापित भएको आठौं वर्ष प्रवेशको सन्दर्भ पारेर स्थापना दिवस मनाईएको हो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मझकुर सशस्त्र प्रहरी बल नेपाल नं ४ बाहिनी मुख्यालय पोखरा कास्कीका सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं बाहिनीपति दिपेन्द्र शाहले जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले शान्ति सुरक्षासहित दैवि विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट काम गर्दै आएको बताउनुभयो । साथै उहाँले आसन्न निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी जवानहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
यस स्थानमा यहाँका नागरिकहरुको सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरीका लागि स्थायी जग्गा नभएकाले स्थायी जग्गा उपलब्ध गराई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले प्राकृतिक विपत्ति लगायतका परिस्थितिमा सशस्त्र प्रहरीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । साथै उहाँले जिल्लाको शान्ति, सुरक्षा र अमनचयन कायम राख्नकालागी महत्त्वपूर्ण भुमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत यस्तै कार्यको अपेक्षा राखेको उहाँको भनाई थियो ।

कार्यक्रममा ३० नं. गुल्मका गुल्मपति कुमार तिमिल्सिनाले संगठनले प्राप्त गरेका जिम्मेवारीहरु कुशलता पुर्वक निर्वाह गर्दै आएको र यहाँका विभिन्न संघ संगठनसंग समन्वय गरि सचेतनामुलक तथा प्राकृतिक विपत्ति विरुद्धका कार्यहरु सफलता पुर्वक गर्दै आएको र आगामी दिनमा समेत जिल्लाको सुरक्षाका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थापना दिवसका अवसरमा यसअघि गरिएका विभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट भएका प्रहरीहरु जवानहरुलाई पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा हालसम्म विभिन्न तह र तप्काबाट सहयोग पुर्याउने संघ संस्था तथा ब्यक्तिहरुलाई तथा सशस्त्र द्वन्द्वका समयमा सहादत प्राप्त गर्नुभएका सहिदका परिवारलाई समेत दोसल्लाले सम्मान गरिएको थियो ।






