प्रथम वालिङ फुड फेष्टिबल आजदेखी

0
126
Google search engine

वालिङ, १७ मंसिर ।
आजदेखी प्रथम वालिङ सडक खाना महोत्सव शुरु हुँदै छ । आजदेखी १९ गते शुक्रबार सम्म चल्ने सडक खाना महोत्सवको अन्तिम तयारीका विषयमा मंगलबार नगरपालिका सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । मौलिक खानालाई प्रर्वद्धन गर्दै बजारसम्म ल्याईपु¥याउन आयोजना गरिएको सडक महोत्सवको नारा “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहाना” भन्ने रहेको छ ।
स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहनेछन् ।
महोत्सव तयारीका विषयमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख कृष्ण खांणले प्रथम सडक महोत्सव स्थानीय तथा मौलिक खानाको प्रर्वद्धन गर्दै पर्यटन आवागमनको विकासका लागी आयोजना गरिएको बताउनुभयो । काम गर्दै जाँदा प्रशंसा र आलोचना दुवै आउने भन्दै महोत्सव सफल पार्नका लागी यहाँका स्थानीय तथा संचार माध्यमको महत्वपुर्ण हात हुने प्रमुख खांणले बताउनुभयो ।
महोत्सव सम्पन्न गर्न नगरपालिकाले ६ लाख रकम विनियोजन गरेको छ । जसमा स्टल भाडाबाट ५० हजार आम्दानी गर्दै नगरपालिकाले ६ लाख ५० हजारमा महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै खर्चमा २ लाख कलाकारको लागी छुट्याएको छ भने साउण्ड सिष्टम १ लाख, स्टल निर्माण २ लाख २५ हजार, अतिथि सत्कारमा २० हजार, प्रचारप्रसारमा ५० हजार, मायाको चिनोमा ५० हजार र विविधमा ५ हजार गर्दै ६ लाख ५० हजार नै खर्च गर्ने योजना बनाएको छ ।
महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्रिलगायतका जातजातिहरुको मौलिक परिकारको प्रर्दशनी तथा बिक्रि, जातिय तथा परम्परागत नृत्य, भेषभूषा, लोक संगीत, जातिय रितिरिवाज तथा जीवनशैली एकै थलोमा हेर्न सकिनेछ । आँधीखोले सभ्यता, स्थानिय इतिहास र समग्र नगरको सांस्कृतिक पहिचानलाई समेटेर आयोजना गरिएको महोत्सवमा स्थानीय चुलोचौकाको स्वाद, पुख्र्यौली परिकारदेखि आधुनिक परिकारसम्मको स्वाद लिन पाईनेछ ।
महोत्सवले स्थानीय होटलहरुको प्रर्वद्धन गर्दै मौलिक खानालाई बजारसम्म ल्याउन सहयोग गर्ने बताउँदै महोत्सव व्यवस्थापक तथा नगरप्रवक्ता पदमराज गुरुङले स्थानीय कलाकार र स्थानीय परिकार तथा उत्पादनलाई महोत्सवमा विषेश प्राथामिकता दिईएको बताउनुभयो । महोत्सवमा स्थानीय परिकार स्वस्थ र सुलभ दरमा पाईने प्रवक्ता गुरुङ बताउनुहुन्छ ।
महोत्सवमा स्थानीय कृषिलाई निशुल्क स्टलको व्यवस्था गरिएको छ । यहाँका स्थानीय किसानहरुले उत्पादन गरेका फलफूल, तरकारी, बिउविजन तथा कृषि प्रविधि एवं नवीन उद्यमहरुको प्रर्दशनी समेत रहनेछ भने राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिदेखि नगरभित्रका प्रतिभा प्रस्फुटन समेत गरिनेछ ।
वालिङ खेलमैदानदेखि सुर्कौँदी पुलसम्म विभिन्न खानाका स्टलहरु रहनेछन् भने महोत्सवलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थादेखि सम्पुर्ण व्यवस्थालाई व्यवस्थित बनाईएको प्रवक्ता गुरुङले बताउनुभयो । महोत्सव दिउँसो १ देखि बेलुका ९ बजेसम्म रहनेछ भने महोत्सव अवधिभर बेलुका वालिङको आकाशमा आतिसबाजीका दृष्यहरुपनि अवलोकन गर्न पाईनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, पुर्व अध्यक्ष ओमप्रकाश शर्मालगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन नगरपालिका प्रेस संयोजक शुसिल सुवेदीले गर्नुभएको थियो ।

Google search engine
Google search engine