गोपिकृष्ण रेग्मी
चापाकोट, २१ कार्तिक ।
चापाकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष टोपलाल (राजु) न्यौपानेले मणिमुकुन्देश्वर गुरुकुलमा अध्ययनरत आवासीय विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि ३५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा प्रदान गर्नुभएको छ। वडाध्यक्ष न्यौपानेका अनुसार, गुरुकुलमा बस्ने विद्यार्थीहरू बिरामी परेपछि अस्पताल लैजान अभिभावक वा समितिका प्रतिनिधिहरू समयमै उपस्थित नहुने समस्या देखिएकाले अब बीमा सुविधासँगै उपचार सहज र छिटो हुने अपेक्षा गरिएको छ।
उहाँले भन्नुभयो, “विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो। अब कुनै बालक बिरामी परे पनि उपचारका क्रममा ढिलाइ हुने अवस्था रहने छैन।” मणिमुकुन्देश्वर गुरुकुलले विगतदेखि नै आफ्ना वटुक बालकहरूलाई भोजन, आवास, अध्ययन सामग्री र उपचार सुविधा नि:शुल्क उपलब्ध गराउँदै आएको छ। विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई संस्थागत रूप दिन वडा नं. ८ कार्यालयले बीमा सेवा सुरु गरेको हो।
गुरुकुल परिवारले यस मानवतामूलक र प्रेरणादायी कार्यका लागि वडा अध्यक्ष टोपलाल न्यौपाने तथा सम्पूर्ण वडा नं. ८ परिवारप्रति हृदयदेखि आभार र धन्यवाद व्यक्त गरेको छ।
गुरुकुलका पदाधिकारीहरूले वडाको यो सहयोगले विद्यार्थीहरूमा सुरक्षा, विश्वास र प्रेरणा जागृत भएको बताएका छन्। साथै, यसले गुरुकुललाई सेवा, संस्कार र समर्पणको यात्रामा अझ अघि बढ्न उत्प्रेरित गरेको जनाइएको छ।





