वालिङ, १५ असोज ।
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता किशोर अझै भेटिएका छैनन् । बुधबार स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीमा पौडी खेल्नेक्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका १ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता हुनुभएको सशस्त्र प्रहरी बल ३० नं गुल्म स्याङ्जाका गुल्मपति कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
कैलालीबाट पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्नेक्रममा दुबै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुसल उद्दार गरिएको थियो । बुधबार बिहानदेखि कालीगण्डकी नदीमा बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा खोजी कार्यलाई तिव्रता दिईएको गुल्मपति तिमिल्सिनाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीको तालिम प्राप्त समूहले ‘¥याफ्टिङ बोट’ को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानहरुमा खोजी कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । “घटना घटेकै दिनबाट घटनास्थल राम्दीदेखि कालीगण्डकी नदीका रह तथा नदी किनाराका संभावित ठाउँहरुमा खोजी कार्यलाई तिव्र पारेका हौं” उहाँले भन्नुभयो, “खोजी कार्यलाई निरन्तरता दिंदै शुक्रबार पनि झण्डै ८÷१० किलोमिटर तल असेर्दीसम्मका नदीका दुबै किनारामा खोजी गरिरहेका छौं ।” बिहीबारदेखि निरन्तररुपमा सिमसिम पानी परिरहेको र कालीगण्डकी नदी धमिलो भएकाले खोजी कार्यमा कठिनाई भईरहेको छ ।





