आरती कुँवर
वालिङ, २४ साउन ।
स्याङ्जाको वालिङ, ९ भुम्रेको नेवार समुदाय लामो समयदेखि लाखे नाचलाई संरक्षण गर्दै आएका छन् । पछिल्लो समय लोप हुने अवस्थामा पुगेको लाखे नाचको संरक्षणका लागि भुमे्रका नेवार समुदाय जुटेका छन् । नेवारी संस्कृति र पहिचानलाई जोगाउन यसको संरक्षणमा युवा पुस्ता पनि सक्रिय रुपमा लागेको छ । यस वर्षको नागपञ्चमी, जनैपूर्णिमा, श्रीकृष्ण अष्टमी तथा तीज पर्वलाई विशेष बनाउन स्थानिय होराइजन क्लबले चार दिनको “भुम्रे जात्रा महोत्सव” को आयोजना गरी लाखे नाचलाई विशेष प्राथमिकता दिइएको छ ।
लखे नाचलाई प्रदर्शन गर्ने र भावी पुस्तालाई हस्तान्तरण तथा नेवार समुदायको संस्कृति संरक्षणको लागि “भुम्रे जात्रा महोत्सव”को आयोजना गरिएको होराइजन क्लबका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिनुभयो । लाखे नाचको मौलिकता र महत्वलाई उजागर गर्न तथा पुरानैशैलिमा फर्कउनुका साथै यसको इतिहास र महत्वबारे जानकारी गराउन यस पटक महोत्सवको रुपमा प्रस्तुत गर्न खोजिएको उहाँले बताउनुभयो ।
लाखे नाच संगसंगै गाई जात्रा, रोपाइँ जात्रा र बाघ जात्रा पनि राखिएको र यसपटक फरकपना ल्याउन (फूड फेस्टिवल) नेवारी परिकारको २ वटा स्टल समेत राखिएको उहाँले बताउनुभयो । लाखे नाच नागपञ्चमीदेखि नै सुरुभएको र तीजको पञ्चमीसम्म प्रदर्शन गरिने बताउनुभयो । आज जनैपूर्णिमाको रौनकलाई थप उल्लासमय बनाउन २ वटा लाखे नाच एकैपटक प्रदर्शन गरिनेछ भने आजैबाट ४ दिनसम्म गाई जात्रा, रोपाइँ जात्रा र बाघ जात्रा समेत प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।






